भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । बुधबार भएको भेटवार्ताका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल आउन आग्रह गरेको भ्रमण दलमा सहभागी एक अधिकारीले बताए ।
त्यस क्रममा प्रधानमन्त्री मोदीले नेपाल भ्रमणप्रति आफू उत्सुक रहेको प्रतिक्रिया दिँदै छिट्टै नेपाल आउने संकेत गरेका थिए । स्रोतका अनुसार, मोदीले भ्रमणमा चासो देखाएपछि नेपाल सरकारको तर्फबाट औपचारिक निमन्त्रणा पठाउने विषयमा पछि छलफल हुनसक्ने बताइएको छ ।
त्यसो त, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएलगतै भारतका प्रधानमन्त्री मोदीले भ्रमणका लागि निम्तो दिएका थिए । पछि नेपालस्थित भारतीय दूतावासमार्फत पठाएको बधाई सन्देशमा पनि भारत भ्रमणको निम्तो दिएका थिए । सो निम्तोलाई प्रधानमन्त्री बालेनले स्वीकार गरेका थिए ।
भ्रमणको आन्तरिक तयारी पनि दुवैतिर सुरु भइसकेको थियो । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री औपचारिक निमन्त्रणा लिएर नेपाल आउन चाहेका थिए तर प्रधानमन्त्री बालेनले नभेट्ने भनेपछि उनी आएनन् ।
प्रधानमन्त्री बालेन एक वर्ष कुनै पनि देशको भ्रमण नगर्ने भनी उनकै पार्टीका पदाधिकारीहरूले स्पष्ट गरेपछि हाल उनको भारत भ्रमण नहुने देखिएको छ । यस अवस्थामा प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने कि नआउने भन्ने विषय सोचनीय विषय रहेको जानकारहरू बताउँछन् ।
यसअघि भारतले पनि नेपालका शीर्ष नेतृत्वलाई भ्रमणका लागि निम्तो दिँदै आएको छ । कूटनीतिक अभ्यासअनुसार उच्चस्तरीय भ्रमण आदान–प्रदान निरन्तर हुने परम्परा रहँदै आएको छ । हाल दुवै देशबीच सम्भावित उच्चस्तरीय भ्रमणबारे अनौपचारिक छलफल र कूटनीतिक तयारी जारी रहेको बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म चार पटक नेपाल भ्रमण गरिसकेका छन् । उनले पहिलो पटक २०१४ मा प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा नेपाल भ्रमण गर्दै संसदलाई समेत सम्बोधन गरेका थिए । त्यसपछि सार्क सम्मेलन, जनकपुर भ्रमण र लुम्बिनीको एकदिने औपचारिक भ्रमणका लागि नेपाल आएका थिए ।


