राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक रुपमा मौलाइरहेको कलह अन्ततः पार्टी विभाजनको संघारमा पुगेको छ । पार्टीमा देखिएको आन्तरिक विवाद चुलिँदै जाँदा ठूलो समूहले पार्टी परित्यागको घोषणा गरेको छ । यसै क्रममा पार्टीका महामन्त्री डा.धवलशमशेर राणासहित १८३ जना नेता–कार्यकर्ताले संयुक्त रूपमा राप्रपा छोडेको घोषणा गरेका छन् ।
यसअघि नै डा.राणाले छुट्टै विज्ञप्ति जारी गर्दै आफू राप्रपामा नरहेको जानकारी गराएका थिए । त्यसपछि आज शीर्ष तहका नेताहरूको सहभागितामा सामूहिक विज्ञप्ति जारी गर्दै थप नेताहरूले पनि पार्टी परित्यागको औपचारिक घोषणा गरेका हुन् । पार्टी छाड्ने नेताहरूमा मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला लगायतका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरू रहेका छन् । त्यस्तै पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका प्रतिनिधिहरू समेत समूहगत रूपमा बाहिरिएका छन् ।
पार्टी परित्याग गर्ने पक्षले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै संगठनभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको आरोप लगाएको छ । उनीहरूले राजसंस्थाको एजेन्डा ओझेलमा पारिएको तथा पार्टीको मूल राजनीतिक दिशानिर्देशन नै परिवर्तन भएको दाबी गरेका छन् ।
पछिल्लो समय राप्रपाभित्र नेतृत्व, नीति र संगठनात्मक संरचनालाई लिएर असन्तुष्टि बढ्दै गएको थियो । त्यसैको परिणामस्वरूप ठूलो संख्यामा नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी छोड्ने निर्णय लिएको बताइएको छ । यस घटनाले राप्रपाको संगठनात्मक शक्ति र आन्तरिक एकतामा थप चुनौती बढेको विश्लेषण गरिएको छ ।


