नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्नो २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन यही जेठ २४ र २५ गते ललितपुरमा आयोजना गर्ने भएको छ। महासंघको स्थापना भएको ३६ वर्ष पूरा भई ३७औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजना हुन लागेको उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको महासंघले जनाएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले महाधिवेशनमा देशभरका सातै प्रदेश र ७७ वटै जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक तथा महिला उद्यमीहरूको सहभागिता रहने जानकारी दिए। उनका अनुसार कार्यक्रममा करिब एक हजार जनाको उपस्थिति रहने अपेक्षा गरिएको छ। ‘हाम्रा उद्यमी, हाम्रो उत्पादन’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महाधिवेशनले घरेलु, लघु तथा साना उद्योग क्षेत्रका विविध विषयमा व्यापक छलफल गर्नेछ।
महासंघका अनुसार महाधिवेशनले संगठनलाई थप सुदृढ बनाउने, विगतका गतिविधिको समीक्षा गर्ने तथा आगामी कार्यदिशा तय गर्ने प्रमुख उद्देश्य राखेको छ। साथै, लघु तथा घरेलु उद्योग क्षेत्रले भोगिरहेका समस्या, चुनौती र सम्भावनाबारे गहन छलफल गरिनेछ। कार्यक्रममार्फत महासंघ तथा केन्द्रीय महिला उद्यमी समितिको आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गरिने जनाइएको छ।
महाधिवेशनका क्रममा नेपाली उद्यमीहरूले उत्पादन गरेका स्वदेशी वस्तुहरूको प्रदर्शनी पनि आयोजना गरिनेछ। प्रदर्शनीले स्थानीय उत्पादनको प्रवर्द्धन, बजार विस्तार तथा उपभोक्तामाझ स्वदेशी वस्तुप्रतिको विश्वास बढाउन सहयोग पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ। स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुर्याउने उद्देश्यले प्रदर्शनीलाई विशेष महत्व दिइएको बताइएको छ।
यसैबीच, महासंघले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे पनि आफ्नो धारणा सार्वजनिक गरेको छ। महासंघले बजेटमा समेटिएका केही नीतिगत व्यवस्थालाई सकारात्मक रूपमा लिएको भए पनि लघु, घरेलु तथा साना उद्योगको विकासका लागि पर्याप्त कार्यक्रम नआएको टिप्पणी गरेको छ।
महासंघका अनुसार उद्योग तथा व्यवसायमैत्री कर नीति, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, नवप्रवर्तनलाई प्रोत्साहन तथा ऊर्जा र पूर्वाधार विकासलाई प्राथमिकता दिइनु बजेटका सकारात्मक पक्ष हुन्। यस्ता नीतिले साना उद्योगहरूको उत्पादन लागत घटाउन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तर बजेटमा घोषणा गरिएका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसके अपेक्षित उपलब्धि हासिल गर्न कठिन हुने महासंघको भनाइ छ। विशेषगरी साना उद्यमीहरूले सहज रूपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। निर्माण सामग्री, ऊर्जा र ढुवानी खर्चमा भएको वृद्धिका कारण साना उद्योगहरू दबाबमा परेकाले सरकारले राहतमुखी र उत्पादन प्रवर्द्धन गर्ने नीति ल्याउनुपर्ने महासंघको माग छ।
महासंघले स्वदेशी उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि स्पष्ट कार्ययोजना ल्याउन सरकारसँग आग्रह गर्दै निजी क्षेत्र र सरकारबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने जनाएको छ। आर्थिक समृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि घरेलु तथा साना उद्योग क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै महासंघले आगामी दिनमा सरकारसँग सहकार्य गरेर उद्यमशीलता विकासमा सक्रिय योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।


