Banijya News

कर छलीको आरोपमा रसुवा भन्सारका कर्मचारी अनुसन्धानको घेरामा

1
1.0K Shares

रसुवा भन्सार कार्यालयका ६ जना कर्मचारी भन्सार विभागमा तानिएका छन् । बजेटमा वृद्धि भएको कर छल्न अनधिकृत रूपमा भन्सार छल्न सहयोग गरेको आशंकामा रसुवा भन्सार कार्यालयका प्रमुख तुलसी भट्टराईसहित ६ जनालाई विभागमा तानिएको हो ।

जिम्मेवारीमुक्त गरिएका ६ कर्मचारीहरूमा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई तथा भन्सार अधिकृत ठाकुर गौतम, भन्सार अधिकृतद्वय खड्गबहादुर माझी र प्रकाश पुडासैनी तथा नायव सुब्बा तेजबहादुर बल रहेका छन् ।

विद्युतीय गाडीको जाँचपासमा चलखेल गरी कर छली गरेको उनीहरुमाथि आरोप छ । कार्यालयले भन्सारमा लाग्ने मूल्य बढ्ने सूचनाको आधारमा सवारीसाधन नै नआई भन्सार जाँचपास गरेको आरोप छ । सोही गोप्य सूचनाका आधारमा उनीहरूलाई विभागमा तानिएको अर्थ मन्त्रालयले जनाएको छ ।

बुधबार नै नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७ सय ७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिइएको छ । भन्सार छलेर ल्याइएको आशंकामा सशस्त्र प्रहरी बल नेपालले ती विद्युतीय गाडी नियन्त्रणमा लिएको हो । मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट सशस्त्र प्रहरी बलले ती गाडीहरु नियन्त्रणमा लिएका थिए ।

बजेटमा परिवर्तन गरिएको भन्सार दर छल्न विभिन्न कम्पनीले भन्सार कर्मचारीसँग मिलेर पुरानो मितिको प्रज्ञापनपत्र बनाएर भन्सार छलेको आशंका गरिएको छ । ती गाडीको आयातको सम्बन्धमा छानबिन गर्न अर्थ मन्त्रालयले समिति समेत गठन गरेको छ ।

विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार, विभागको नीति तथा मूल्यांकन शाखा प्रमुख भुपालराज शाक्यको संयोजकत्वमा अन्तरनिकायगत छानबिन समिति गठन गरिएको हो । उक्त समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत प्रतिनिधिको सहभागिता रहेको छ । पुरानै प्रणाली अनुसार भन्सार जाँचपास गराएर मूल्य छलेको विषयमा छानबिन गर्न सो समिति गठन भएको र समितिले कार्य सुरु गरिसकेको विभागले जनाएको छ ।

जेठ १५ गते सरकारले ल्याएको बजेटमा महँगा सवारी साधनमा लाग्ने करमा वृद्धि गरिएको थियो । महँगा गाडीहरुमा भन्सार मूल्य दोब्बरसम्म बढेको छ ।

1

Scroll to Top