Banijya News

‘उबर’ नेपालमा भित्रियो, बाइक र कारबाट सेवा प्रदान

1
1.0K Shares

विश्वप्रसिद्ध राइड–हेलिङ सेवा प्रदायक कम्पनी उबर नेपालमा औपचारिकरुपमा भित्रिएको छ । कम्पनीका अनुसार नेपालमा सुरुआती चरणमा चारपाङ्ग्रे्रे सवारीतर्फ ‘उबर गो’ र ‘उबर कम्फर्ट’ तथा दुईपाङ्ग्रे्रे सवारीतर्फ ‘उबर बाइक’ सेवा उपलब्ध हुनेछ ।

यी सेवामार्फत यात्रुले सहज, भरपर्दो र सुविधाजनक यात्राको अनुभव लिन सक्ने कम्पनीको दाबी छ । कम्पनीले नेपालमा स्मार्टफोनको बढ्दो प्रयोग, सहरी यातायातको बढ्दो माग तथा पर्यटन क्षेत्रको विस्तारलाई ध्यानमा राख्दै सेवा सुरु गरेको जनाएको छ ।

नेपालमा उबर सेवा आधिकारिक रुपमा सञ्चालनमा आएसँगै एसिया–प्रशान्त क्षेत्रमा नेपाल ११औँ बजार बनेको छ भने दक्षिण एसियामा पछिल्लो एक दशकयता कम्पनीले प्रवेश गरेको पहिलो नयाँ बजार पनि बनेको छ । उबर हाल विश्वका ७० भन्दा बढी देशमा सञ्चालनमा रहेको छ ।

उबरका एपीएसी क्षेत्रीय महाप्रबन्धक डोनिक टेलरले नेपाललाई तीव्र गतिमा डिजिटल रूपान्तरण भइरहेको, सहरी गतिशीलता विस्तार भइरहेको तथा पर्यटन क्षेत्र बढ्दो सम्भावना बोकेको बजारका रूपमा उल्लेख गरेका छन् । उनले नेपालको प्रवेशलाई उबरको विश्वव्यापी विस्तार यात्राको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले उबरको आगमनले नेपालको पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार अन्तर्राष्ट्रिय पर्यटक तथा स्वदेशी यात्रुका लागि सहज आवागमनको व्यवस्था हुनु पर्यटन प्रवद्र्धनका लागि सकारात्मक कदम हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले उबरको प्रवेशलाई आधुनिक, डिजिटल तथा समावेशी यातायात प्रणाली निर्माणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन् । उनले यसले सहरी गतिशीलता सुधार, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

1

Scroll to Top