साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको होे ।
यस दिन नेप्से परिसूचक ११.३७ अंक घटेर २७५५.४१ विन्दुमा बन्द भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंक घटेको छ ।
१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७७ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । बिहीबार ४ अर्ब ७० करोड रुपैयाँबराबरको शेयर किनबेच भएको बजारमा यस दिन ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको पाइएको छ ।
शुक्रबार कालिञ्चोक हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सो कम्पनीको शेयरमूल्य १५ प्रशितले बढेर ७५७ रुपैयाँ ६० पैसा पुगेको छ । त्यस्तै, यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ५५ करोड ६९ लाख ६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सिटी होटलको साढे १९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ ।


