राजधानीको लैनचौर क्षेत्रमा निर्माणाधीन दक्षिण एशियाकै पहिलो ‘लक्जरी कलेक्सन’ होटलको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। विश्वप्रसिद्ध होटल समूह मेरियट इन्टरनेशनलअन्तर्गत सञ्चालन हुने यो भव्य परियोजना अब अन्तिम चरणमा पुगेको लगानीकर्ताले बताएका छन्।
अष्ट्रेलियास्थित नेपाली व्यवसायी शेष घले र जमुना गुरुङ घलेको नेतृत्वमा निर्माण भइरहेको उक्त होटल करिब १३ अर्ब रुपैयाँको लगानीमा तयार हुँदैछ। परियोजनाको निर्माण कार्य सन् २०१३ मा सुरु भए पनि विभिन्न प्राविधिक तथा संरचनागत कारणले अपेक्षाकृत लामो समय लागेको थियो। हालसम्म करिब ७५ प्रतिशत निर्माण सम्पन्न भइसकेको र बाँकी काम पनि तीव्र गतिमा भइरहेको शेष घलेले जानकारी दिए।
उनका अनुसार होटल सञ्चालनसम्बन्धी आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेका छन्। होटलको आधिकारिक नाम र ट्रेडमार्क दर्ताको प्रक्रिया सम्पन्न हुने क्रममा रहेको र केही साताभित्रै औपचारिक घोषणा गरिने तयारी भइरहेको छ।
सुरुमा होटललाई ‘शेरेटन’ ब्रान्डअन्तर्गत सञ्चालन गर्ने योजना बनाइएको थियो। तर पछि मेरियट इन्टरनेशनलले यसलाई अझ उच्चस्तरीय ‘लक्जरी कलेक्सन’ ब्रान्डमा स्तरोन्नति गर्ने निर्णय गरेपछि भवनको डिजाइन, आन्तरिक संरचना तथा सेवासुविधामा व्यापक परिवर्तन गर्नुपरेको लगानीकर्ता जमुना गुरुङ घलेले बताइन्।
उनका अनुसार होटलमा नेपालमा हालसम्म उपलब्ध नभएका अन्तर्राष्ट्रिय स्तरका विलासी सेवा तथा सुविधाहरू समावेश गरिनेछ। अतिथिहरूलाई विश्वस्तरीय अनुभव प्रदान गर्न आधुनिक प्रविधि, उत्कृष्ट आतिथ्यता र उच्चस्तरीय व्यवस्थापन प्रणालीको प्रयोग गरिने तयारी भइरहेको छ।
निर्माण अवधिमा दक्ष तथा अर्धदक्ष जनशक्तिको अभाव, डिजाइन परिवर्तन तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार संरचना निर्माण गर्नुपर्ने चुनौतीका कारण परियोजनामा समय लागेको बताइएको छ। यद्यपि अब अधिकांश संरचनागत काम पूरा भइसकेकाले सञ्चालनको तयारी तीव्र पारिएको छ।
मेरियट इन्टरनेशनलका अध्यक्ष डेभिड मेरियटले समेत निर्माणाधीन होटलको स्थलगत अवलोकन गरिसकेको बताइएको छ। कम्पनीको प्रत्यक्ष निगरानी र सुझावअनुसार निर्माण कार्य अघि बढाइएको लगानीकर्ताले जनाएका छन्।
विश्वका १४० भन्दा बढी देशमा ९ हजार ७ सयभन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको मेरियट इन्टरनेशनलले पछिल्लो समय नेपालमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। हाल नेपालमा मेरियट काठमाडौं, मोक्सी, फेयरफिल्ड, अलफ्ट तथा सोल्टी होटलअन्तर्गत अटोग्राफ कलेक्सन सञ्चालनमा छन्।
लैनचौरमा निर्माण भइरहेको नयाँ होटल सञ्चालनमा आएपछि नेपालका पर्यटन तथा आतिथ्य क्षेत्रले नयाँ उचाइ हासिल गर्ने विश्वास गरिएको छ। यसले उच्चस्तरीय विदेशी पर्यटक आकर्षित गर्नुका साथै नेपाललाई अन्तर्राष्ट्रिय लक्जरी पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।


