दुई ठूला व्यावसायिक घराना गोल्छा र विशाल समूहद्वारा प्रवर्द्धित इस्टर्न सुगर मिल्स लिमिटेडको कारोबारमा क्रमिक सुधार देखिए पनि आन्तरिक उत्पादन चुनौती र सरकारी नीतिका कारण नाफा आर्जनमा भने दबाब परेको छ। रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिवेदन अनुसार कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँको व्यावसायिक कारोबार गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ४० करोड ५० लाख रुपैयाँको तुलनामा बढी हो।
सन् २०२२ मा ९४ करोड ७० लाख र सन् २०२३ मा १ अर्ब १२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले गत वर्ष १ लाख ९१ हजार ३०२ मेट्रिक टन उखु प्रशोधन गरेको थियो। उखु प्रशोधनको परिमाण अघिल्लो वर्ष (१ लाख ८५ हजार ५०४ मेट्रिक टन) भन्दा बढे पनि उखुको गुणस्तरमा आएको ह्रासका कारण चिनी उत्पादनको ‘रिकभरी रेट’ सन् २०२४ को ८.८ प्रतिशतबाट घटेर सन् २०२५ मा ८.३ प्रतिशतमा झरेको छ। यही कारण कम्पनीको सञ्चालन नाफा मार्जिन (ओपीएम) समेत १५.३ प्रतिशतबाट खुम्चिएर ९.३ प्रतिशतमा सीमित हुन पुगेको छ।
कम्पनीको उत्पादन लागत वृद्धि र बाह्य नीतिगत व्यवस्थाहरूले वित्तीय अवस्थालाई थप चुनौतीपूर्ण बनाएका छन्। सरकारले उखुको न्यूनतम समर्थन मूल्य आर्थिक वर्ष २०२४/२५ मा प्रतिक्विन्टल ५६५ बाट बढाएर ५८५ रुपैयाँ तोकेको थियो भने चालु आर्थिक वर्षका लागि यसलाई थप वृद्धि गरी ६२० रुपैयाँ पुर्याएको छ। यसरी कच्चा पदार्थको मूल्य बढिरहेको बेला सरकारले चिनी आयातमा लाग्ने भन्सार शुल्क ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारिदिँदा स्वदेशी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता र नाफा मार्जिनमा गम्भीर असर पर्ने जोखिम बढेको छ। यद्यपि, भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्धले नेपाली उद्योगलाई केही समयका लागि राहत दिने अपेक्षा गरिएको छ।
अर्कातर्फ, कम्पनीको आम्दानी मुख्य रूपमा चिनी बिक्रीमा मात्रै निर्भर रहनु र उखु खेती मौसम तथा जलवायुजन्य जोखिममा आधारित हुने भएकाले यसको व्यवसाय स्वभावतः चक्रीय र जोखिमयुक्त देखिन्छ। विगतको सञ्चित नोक्सानी र ऋणमा आधारित लगानीका कारण इस्टर्न सुगर मिल्सको समग्र पुँजी संरचना र ऋण बहन क्षमता पनि कमजोर बनेको छ। प्रतिवेदन अनुसार कम्पनीको ऋण सेवा क्षमता सन् २०२४ को १.१ गुणाबाट घटेर सन् २०२५ मा १.० गुणामा झरेको छ भने कुल ऋण र सञ्चालन नाफाबीचको अनुपात (टीडी/ओपीबिट्डा) ५.३ गुणाबाट उल्लेख्य बढेर ९.६ गुणा पुगेको छ।
यसका साथै, सञ्चालन आम्दानीको तुलनामा कार्यशील पुँजीको आवश्यकता ३३ प्रतिशतबाट बढेर ४१ प्रतिशत पुगेकाले वित्तीय दबाब थपिएको छ। सन् १९९४ मा स्थापना भई १९९६ देखि व्यावसायिक सञ्चालनमा आएको यस कम्पनीको दैनिक उखु प्रशोधन क्षमता २,५०० टन रहेको छ र यसको उद्योग सुनसरीको अमाहीबेलामा अवस्थित छ।


