संघीय सरकारबाट मुलुकभरका ६ महानगरपालिकाले पौने १२ अर्ब रुपैयाँ अनुदान पाएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को अन्तर सरकारी वित्तीय हस्तान्तरणसम्बन्धी विवरणअनुसार ६ महानगरहरूले ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान पाएका हुन् । यसमध्ये समानीकरण अनुदान र सशर्त अनुदान सबै महानगरले पाएका छन् । तर, काठमाडौँ, ललितपुर र विराटनगरले भने विशेष र समपूरक अनुदान पाएका छैनन् ।
आगामी आवको अन्तर सरकारी वित्तीय हस्तान्तरणसम्बन्धी विवरणअनुसार मुलुकभरका ६ महानगरमध्ये पोखराले सबैभन्दा धेरै अनुदान पाएको छ । केन्द्रबाट पोखराले ३ अर्ब १८ करोड ९० लाख अनुदान पाएको छ । जसमा समानीकरण अनुदान ४९ करोड ६७ लाख, सशर्त अनुदान २ अर्ब ६१ करोड ९१ लाख, समपूरक अनुदान ५ करोड ५० लाख र विशेष अनुदान १ करोड ८२ लाख रहेको छ ।
यसैगरी, काठमाडौँ महानगरपालिकाले केन्द्रबाट २ अर्ब २७ करोड ८८ लाख अनुदान पाएको छ । जसमध्ये १ अर्ब ६० करोड १८ लाख सशर्त अनुदान छ भने ६७ करोड ७० लाख समानीकरण अनुदान रहेको छ । काठमाडौँले विशेष र समपूरक अनुदान पाएको छैन ।
विवरणअनुसार, चितवनको भरतपुर महानगरले २ अर्ब ५ करोड १७ लाख अनुदान पाएको छ । यसमा १ अर्ब ६१ करोड ७ लाख सशर्त र ३९ करोड ६५ लाख समानीकरण अनुदान रहेको छ । यस्तै, २ करोड ५० लाख समपूरक र १ करोड ९५ लाख विशेष अनुदान पाएको छ ।
वीरगन्ज महानगरपालिकाले पाएको १ अर्ब ९८ करोड ९ लाख रुपैयाँ अनुदानमध्ये १ अर्ब ६० करोड ६७ लाख रुपैयाँ सशर्त अनुदान रहेको छ । त्यस्तै, ३५ करोड ३५ लाख समानीकरण अनुदान, ४० लाख विशेष अनुदान र १ करोड ६७ लाख समपूरक अनुदान रहेको छ ।
केन्द्रबाट आगामी आवका लागि ललितपुर महानगरपालिकाले १ अर्ब १४ करोड ५९ लाख रुपैयाँ अनुदान पाएको छ । यसमध्ये ७६ करोड सशर्त अनुदान र ३८ करोड ५९ लाख समानीकरण अनुदान पाएको छ । ललितपुर महानगरले पनि विशेष र समपूरक अनुदान पाएको छैन ।
विराटनगर महानगरपालिकाले केन्द्रबाट १ अर्ब ७ करोड २८ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये ७३ करोड ८५ लाख सशर्त अनुदान र समानीकरण अनुदान ३३ करोड ४३ लाख रुपैयाँ पाएको छ । विराटनगरले पनि विशेष र समपूरक अनुदान पाएको छैन ।


