राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले मंगलबार एक जरुरी सूचना जारी गर्दै मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ। अधिवेशनलाई पूर्ण रूपमा निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत ढंगले सम्पन्न गराउन थप आन्तरिक तयारी आवश्यक देखिएकाले आयोगले हाललाई सबै प्रक्रिया रोक्ने निर्णय लिएको हो ।
पार्टीको विधान २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ र ४९ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै गरिएको यस निर्णयसँगै अब प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, तथा अधिवेशन केन्द्रित बैठक र भेलाहरू पूर्ण रूपमा रोकिनेछन्। अब अधिवेशन पुनः सञ्चालन हुने नयाँ मिति, समय र परिमार्जित कार्यतालिकाबारे केन्द्रीय निर्वाचन आयोगले पछि आधिकारिक जानकारी दिनेछ।
आयोगले अर्को निर्देशन नभएसम्मका लागि अधिवेशनसँग सम्बन्धित कुनै पनि नयाँ गतिविधिहरू सञ्चालन नगर्न पार्टीका सम्पूर्ण सदस्य, प्रतिनिधि, उम्मेदवारका साथै प्रदेश र जिल्ला तहका नेता-कार्यकर्ताहरूलाई आग्रह गरेको छ। यस निर्णयको बोधार्थ जानकारी पार्टी सभापति, महामन्त्री, संगठन विभाग, अनुशासन आयोग र मधेस प्रदेश समितिलाई समेत गराइसकिएको छ।


