राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आम्दानी पछिल्लो १० महिनामा उल्लेख्य वृद्धि भएको देखिएको छ । निगमले चालू आर्थिक वर्ष २०८२/८३ को १० महिनाको अवधिमा १४ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ । निगमले यात्रुलाई हवाई टिकट बिक्री तथा कार्गो सेवाबाट सो आम्दानी गरेको हो ।
निगमको यस्तो आम्दानी गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा २४.९१ प्रतिशतले बढी हो । निगमले गत वर्ष ११ अर्ब ७६ करोड रुपैयाँ यात्रु सेवा बिक्रीबाट गरेको व्यापारमा यो वर्ष २ अर्ब ९३ करोड रुपैयाँ थप भएको जनाएको छ । निगमले यस्तो आम्दानीका लागि चालू आवको १० महिनामा ५ लाख ३६ हजार यात्रुलाई सेवा दिएको छ ।
गत आर्थिक वर्षको १० महिनामा निगमको आम्दानी अघिल्लो वर्ष २०८०/८१ को तुलनामा भने १ अर्ब ३७ करोड रुपैयाँ अर्थात् १० प्रतिशतले घटेको थियो
वायुसेवा निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार यो वर्ष निगमको अन्तर्राष्ट्रिय उडानका जहाजले नियमित उडान गरिरहेका छन् । चारवटै जहाज यो वर्ष नियमित सेड्युल्ड मेन्टेनेन्समा गएका छैनन् । उनका अनुसार दुई वर्षअगाडिको नियमित मर्मत आगामी असारमा वाइडबडीको हुन्छ भने न्यारोबडी आगामी आर्थिक वर्षमा मात्रै ‘सी–चेक’ मा जानेछ ।
गत आवको तुलनामा यो वर्ष निगमले दिल्लीमा उडान थप गरेको र उडान व्यवस्थापन मिलाएर यात्रु सेवा संख्या बढाउँदा व्यापार बढेको देखिएको हो । निगमको यात्रु उडान समेत गत वर्षको तुलनामा चालू आवको वैशाखसम्ममा ८७ हजारले बढेको छ । गत वर्ष निगमले उक्त अवधिमा ४ लाख ४९ हजार यात्रुलाई सेवा दिएको थियो ।
गत आर्थिक वर्षमा निगमको आन्तरिक उडानका जहाज लामो समय थन्किनु र अन्तर्राष्ट्रिय उडानका जहाज पनि मर्मतसम्भारका नाममा पालैपालो लामो समय थन्किनुको असर आम्दानीमा परेको थियो । चालू आवमा गत वर्षको तुलनामा यात्रु सेवा बढ्नु र व्यापारसमेत विस्तार हुनुलाई निगमले सकारात्मक रूपमा लिएको छ । आगामी आर्थिक वर्षमा अहिलेको यात्रु वृद्धिदर र व्यापारलाई अझै उचाइमा पुऱ्याउने रणनीति निगमले लिएको छ ।
निगमले गर्ने उडानमा आन्तरिकतर्फ जहाज अभाव भएको र सेवामूलक मात्रै उडान भएकाले जम्मा २१ हजार यात्रुलाई मात्रै सेवा दिएर १० करोड रुपैयाँको मात्रै व्यापार गरेको छ । निगमको अन्तर्राष्ट्रिय उडानमा भने सबैभन्दा बढी यात्रु भारतको नयाँदिल्ली उडानमा हुने गरेका छन् । यो गन्तव्यमा गरेको उडानबाट निगमले १ लाख २६ हजार यात्रुलाई पछिल्लो १० महिनामा उडान सेवा दिँदा १ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेको छ ।
निगमको आम्दानीको सबैभन्दा आकर्षक गन्तव्य जापान हो । जापानको नारितामा गरेको उडानबाट निगमले पछिल्लो १० महिनामा ४ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गन्तव्यमा साउनदेखि वैशाखसम्म ६४ हजार यात्रुलाई सेवा दिएको पनि निगमले जारी गरेको विवरणले देखाएको छ ।


