अहिले नेपाली बजारमा एभोकाडो प्रशस्त मात्रामा बिक्री भइरहेको छ । तर, ती एभोकाडो स्वदेशी उत्पादन भई विदेशबाट आयात भएका हुन् । नेपालमा अहिले अफ्रिकाको युगान्डाबाट आयात हुने एभोकाडोमा हानिकारक रोग भेटिएको छ । नेपालको स्वदेशी उत्पादनलाई नै सखाप पार्न सक्ने रोगको जीवाणु भेटिएपछि सरकारले यसको आयातमा तत्कालका लागि पूर्ण रोक लगाएको छ ।
भारतीय बाटो हुँदै र कहिलेकाहीँ तान्जानियाको उत्पादन भनेर समेत लुकाएर ल्याइने गरिएको युगान्डाको एभोकाडोमा खतरनाक रोगको जीवाणु भेटिएपछि प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले आयात अनुमतिपत्र (इन्ट्री परमिट) दिन बन्द गरेको हो ।
केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलका अनुसार, बजार अनुगमन गर्दा युगान्डाको एभोकाडोमा गम्भीर प्रकृतिको रोग देखिएको हो । बजारमा गएर सर्भे र ट्रेस ब्याक गरेर हेर्दा युगान्डाको एभोकाडोमा नेपालमा प्रतिबन्धित र स्वदेशी नेपाली एभोकाडो खेतीमा सल्कन सक्ने रोग ‘फाइटोप्थोरा पाल्मिभोरा’ को एकदमै प्रोमिनेन्ट (स्पष्ट) उपस्थिति देखिएको उनको भनाइ छ । त्यसले गर्दा विगत १०–१२ दिनदेखि त्यसको आयात अनुमतिपत्र जारी गर्न नै बन्द गरिएको छ
केन्द्रका अनुसार बजारमा ९ सय रुपैयाँ किलोसम्ममा बिक्री भइरहेका यस्ता रोगग्रस्त एभोकाडो भेटिए जफत गरी नष्ट गरिने छ । स्वदेशी कृषि उत्पादन जोगाउन यो कदम चालिएको र तत्काल कुनै ‘करेक्टिभ एक्सन मेजर’ (सुधारात्मक कदम) नभएसम्म आयात नखुल्ने केन्द्रले जनाएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय व्यापार सम्झौता र विश्व व्यापार संगठनको एसपीएस सम्झौता अनुसार नेपालले युगान्डालाई यस विषयमा औपचारिक जानकारी गराउने तयारी गरेको छ । त्यो रोगको आणविक प्रमाणीकरण (मोलिक्युलर भेरिफिकेसन)का लागि प्याथोजेन (रोगको कारक तत्व) पठाएको वरिष्ठ अधिकृत पौडेल बताउँछन् । त्यसको रिपोर्ट आइसकेपछि डब्लूटीओको नियम अनुसार नेपाललाई प्राप्त अधिकार प्रयोग गरेर मापदण्ड पालना नभएको सूचना (नोटिफिकेसन अफ नन–कम्प्लायन्स) जारी गर्ने तयारी छ ।
युगान्डाको एभोकाडोमा देखिएको फाइटोप्थोरा पाल्मिभोरा मुख्यतया एउटा विनाशकारी ढुसीजन्य वनस्पति रोग (प्याथोजेन) हो । यसको संक्रमणले एभोकाडोको फल कुहाउने मात्र नभई बिरुवाको जरा र डाँठलाई समेत कुहाएर सिङ्गै बोटलाई सुकाएर मारिदिन्छ । पानी र माटोका माध्यमबाट द्रुत रूपमा फैलिने यो रोग नेपालका लागि अत्यन्तै खतरनाक मानिएको छ ।
बजारबाट किनेर ल्याइएको आयातित संक्रमित एभोकाडो खाएर त्यसको बोक्रा वा दाना जथाभावी फालिए यसको जीवाणु सजिलै माटोमा मिसिन पुग्छ । यसरी माटोमा पुगेको जीवाणुले नेपालमा फस्टाउँदै गरेको व्यावसायिक एभोकाडो खेतीमा सल्किएर यहाँको सम्पूर्ण उत्पादन र बोटहरू नै सखाप पार्न सक्ने उच्च जोखिम रहेकाले स्वदेशी कृषिलाई जोगाउन प्लान्ट क्वारेन्टिनले यसको आयातमा तत्काल रोक लगाएको हो ।


