Banijya News

अधिक तरलताका कारण एकैदिनमा १ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

1
1.0K Shares

बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य रकम) को चाप निरन्तर बढिरहेपछि नेपाल राष्ट्र बैंकले शुक्रबार १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले १९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार निक्षेप संकलनका लागि शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ। यस उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्।

बोलकबोलमा सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्। आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलन उपकरणको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ। प्राप्त प्रस्तावहरूको मूल्यांकन गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर आह्वान गरिएको कुल रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ। यदि समान ब्याजदरमा आएका प्रस्तावहरू समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी हुन गएमा ‘प्रो–रेटा बेसिस’ मा रकम बाँडफाँड गरिने व्यवस्था छ।

राष्ट्र बैंकका अनुसार यसपटक संकलन गरिने निक्षेपको अवधि १९ दिन रहनेछ। उपकरणको परिपक्वता मिति अर्थात् साँवा तथा ब्याज भुक्तानी असार १७ गते हुनेछ। सो दिन राष्ट्र बैंकले निर्धारित ब्याजसहित संकलित रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको खातामा जम्मा गरिदिनेछ।

पछिल्ला महिनाहरूमा रेमिट्यान्स आप्रवाह उच्च दरमा बढ्नु, सरकारी खर्च अपेक्षाकृत कम हुनु तथा कर्जाको माग सुस्त रहनुका कारण बैंकिङ प्रणालीमा तरलता अधिक भएको छ। यही अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यसअघि पनि राष्ट्र बैंकले विभिन्न अवधिका निक्षेप संकलनमार्फत बजारबाट ठूलो परिमाणमा रकम तानेको थियो।

बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भए पनि निजी क्षेत्रबाट कर्जाको माग अपेक्षाकृत कमजोर रहेकाले अन्तरबैंक ब्याजदर न्यून स्तरमा कायम छ। यस्तो अवस्थामा मौद्रिक व्यवस्थापनको उपकरणका रूपमा राष्ट्र बैंकले अतिरिक्त तरलता खिच्ने नीति निरन्तर अवलम्बन गरिरहेको छ।

1

Scroll to Top