कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लाका विभिन्न स्थानमा प्राकृतिक प्रकोप तथा आगलागीका कारण विस्थापित ५६ घर परिवारलाई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सहयोग गरेको छ ।
कम्पनीले कालिकोटको शुभकालिका गाउँपालिकाका वडा नम्बर २, ३, ७ र ८, महावै गाउँपालिकाका वडा नम्बर १ र ५, खाँडाचक्र नगारपालिकाका वडा नम्बर १, ५ र १०, तिलागुफा नगरपालिकाका वडा नम्बर ५, ६, ७ र १० का पूर्ण रूपमा विस्थापित ५६ घर परिवारलाई सहयोग गरेको हो ।
त्यहाँ प्राकृतिक प्रकोप र आगलागीबाट विस्थापित भएका घरपरिवारको आर्थिक अवस्था नाजुक भएको र हालसम्म कुनै ठोस सहायता वा राहत उपलब्ध नभएको भनी कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रबाट अनुरोध भएपछि सहयोग गरिएको जनाएको छ ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्षति भएका विस्थापित परिवारलाई १० लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । संस्थाले ३२ थान सिरक खरिद गरी काठमाडौंको पानीपोखरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सहयोग सामग्री हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । साथै, सीईओ श्रेष्ठले प्राकृतिक विपदबाट पीडितहरूको शीघ्र पुनर्स्थापनाका लागि भविष्यमा पनि आवश्यक परेको खण्डमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी यस्तै सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा अग्रसर रहिरहने प्रतिबद्धता व्यक्त गरे ।


