परराष्ट्रमन्त्री शिशिर खनाल चार दिवसीय औपचारिक भ्रमणका लागि उत्तरी छिमेकी राष्ट्र चीन जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल जेठ ३१ गते आइतबार चीन जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ समकक्षी वाङ यीसँग बेइजिङमा द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हित र सहकार्यका विविध विषयमा छलफल हुने भएको छ । उनले चीनका उच्चस्तरीय पदाधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी भई नेपालमा वैदेशिक लगानी प्रवद्र्धनका विषयमा चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्नेछन् ।
त्यसैगरी, नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी भई त्यहाँ रहेका नेपाली समुदायसँग पनि भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनाल असार ३ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।


