फुटबलको इतिहासमा सबैभन्दा सफल राष्ट्र मानिने ब्राजिल यसपटक विश्वकपमा केवल खेलाडीको प्रतिभा र प्रशिक्षकको रणनीतिमा मात्र निर्भर छैन। पाँच पटकको विश्वविजेता टोलीले आधुनिक प्रविधिको सहारा लिएर विश्वकपमा आफ्नो प्रदर्शनलाई नयाँ उचाइमा पुर्याउने प्रयास गरिरहेको छ।
पछिल्ला केही विश्वकप संस्करणमा अपेक्षित सफलता हासिल गर्न नसकेको ब्राजिल यसपटक खेलाडीहरूको शारीरिक अवस्था, थकान र चोटसम्बन्धी जानकारीलाई सूक्ष्म रूपमा विश्लेषण गर्न ‘वेयरेबल टेक्नोलोजी’ प्रयोग गरिरहेको छ। प्रशिक्षक कार्लो एन्सेलोटी र उनको प्राविधिक टोलीलाई खेलाडीको वास्तविक अवस्था बुझ्न तथा रणनीतिक निर्णय लिन सहयोग पुग्ने विश्वास गरिएको छ।
ब्राजिलका खेलाडीहरूले जर्सीभित्र विशेष प्रकारको ‘स्मार्ट भेस्ट’ लगाउने गरेका छन्। क्याटापल्ट कम्पनीले निर्माण गरेको यो उपकरणले खेलाडीको दौडको गति, मुटुको धड्कन, शारीरिक गतिविधि, थकानको स्तर तथा फिटनेस अवस्थाबारे विस्तृत तथ्याङ्क सङ्कलन गर्छ। यी तथ्याङ्कहरू प्रशिक्षक र खेल विज्ञान टोलीलाई उपलब्ध गराइन्छ, जसका आधारमा खेलाडी छनोटदेखि खेल रणनीतिसम्मका निर्णय लिइन्छन्।
ब्राजिलियन टोलीका खेल विज्ञान प्रमुख गिल्हर्म पेसोसका अनुसार यो प्रविधिले विशेष गरी ‘ह्यामस्ट्रिङ’ जस्ता मांसपेशीसम्बन्धी चोट पहिचान गर्न र समयमै उपचार गर्न महत्वपूर्ण भूमिका खेल्छ। खेलाडी पूर्ण रूपमा फिट छ वा छैन भन्ने मूल्याङ्कन गर्न प्रविधिले ठूलो सहयोग पुर्याउने उनको भनाइ छ।
उनका अनुसार आधुनिक फुटबल केवल दौडधूपको खेल मात्र होइन। कुनै खेलाडीको शारीरिक क्षमता उत्कृष्ट भए पनि टोलीको रणनीतिमा फिट नहुन सक्छ। त्यस्तै कम दौडिने खेलाडीले सही समयमा सही निर्णय लिएर टोलीलाई जित दिलाउन सक्छ। त्यसैले प्रविधिबाट प्राप्त तथ्याङ्कलाई मैदानको वास्तविक अवस्थासँग जोडेर विश्लेषण गर्नुपर्ने आवश्यकता हुन्छ।
पेसोस भन्छन्, “प्रविधि आफैंमा समाधान होइन, यो निर्णय प्रक्रियाको सहयोगी मात्र हो। सबैभन्दा महत्वपूर्ण कुरा तथ्याङ्कलाई सही रूपमा बुझ्ने र त्यसलाई व्यावहारिक रणनीतिमा रूपान्तरण गर्ने विशेषज्ञहरूको भूमिका हो।”
विगत एक दशकमा यस्तो ट्र्याकिङ प्रविधि तीव्र रूपमा विकसित भएको छ। अहिले विश्वकपमा सहभागी अधिकांश शीर्ष टोलीहरूले पनि खेलाडीहरूको प्रदर्शन विश्लेषण गर्न यस्तै प्रविधिको प्रयोग गरिरहेका छन्। ब्राजिलका लागि यसको अर्को विशेष फाइदा भनेको विभिन्न देशका क्लबमा खेलिरहेका राष्ट्रिय टोलीका खेलाडीहरूको अवस्था टाढैबाट पनि निगरानी गर्न सक्नु हो।
ब्राजिलका अधिकांश खेलाडी युरोप तथा अन्य देशका क्लबहरूमा आबद्ध छन्। राष्ट्रिय टोलीमा सामेल हुनुअघि उनीहरूको फिटनेस र स्वास्थ्य अवस्थाबारे वास्तविक जानकारी प्राप्त गर्न यो प्रणाली अत्यन्त उपयोगी सावित भएको छ।
प्रविधिको प्रयोगले प्रशिक्षकहरूलाई थप सूचित निर्णय लिन मद्दत गरे पनि खेलको अन्तिम परिणाम भने मैदानमै तय हुने फुटबल विज्ञहरूको धारणा छ। विश्वकपको सफलता अन्ततः खेलाडीको कौशल, मानसिक दृढता, टोलीगत समन्वय र निर्णायक क्षणमा देखाइने प्रदर्शनमा निर्भर रहनेछ।
यसपटक ब्राजिलले विश्वकप जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदा प्रविधिलाई आफ्नो नयाँ सहयोगी बनाएको छ। अब यो आधुनिक हतियारले ब्राजिललाई पुनः विश्व फुटबलको शिखरमा पुर्याउँछ कि पुर्याउँदैन, त्यसको जवाफ विश्वकपको मैदानले दिनेछ।


