Banijya News

ऊर्जा क्षेत्रको अधिक बजेट पूर्वाधार निर्माणमा, प्रसारणलाइन र सबस्टेसनलाई कति बजेट ?

1
1.1K Shares

पछिल्ला वर्षहरुमा नेपालमा विद्युत् उत्पादन केही मात्रामा बढ्दै गएको छ । तर, पूर्वाधार अभाव हुँदा विद्युत् खेर जाने जोखिम पनि बढेको छ । विद्युत् खेर जाने यही जोखिमपछि प्रसारणलाइन, वितरण लाइनजस्ता पूर्वाधारलाई प्राथमिकतामा राखेर सरकारले योजना बनाएको छ । सोहीअनुरुप आगामी वर्ष २०८३/८४ को बजेटमा प्रसारणलाइन र सबस्टेसन निर्माणमा पर्याप्त बजेट छुट्याएको छ ।

सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि प्रसारण, सबस्टेसन र वितरणजस्ता विद्युतीय पूर्वाधारको बजेट ५०.६५ प्रतिशतले बढाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युतीय पूर्वाधारसम्बन्धी विभिन्न शीर्षकमा ४६ अर्ब २४ करोड २४ लाख विनियोजन गरेको छ । यो चालू आवको भन्दा ५०.६५ प्रतिशत बढी हो । चालू आवमा यस्ता प्रयोजनमा ३० अर्ब ६९ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । गत आव ०८०/८१ मा भने ३२ अर्ब ७० करोड पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

ऊर्जाको कुल बजेटमध्ये यसको हिस्सा ६६ प्रतिशत रहेको छ । आगामी आवमा ऊर्जा क्षेत्रका लागि ७० अर्ब १२ करोड ४६ लाख बजेट विनियोजन गरिएको छ । यसमध्ये प्रसारणलाइनतर्फ मात्रै ७० अर्ब बजेट विनियोजन गरिएको बजेटमा उल्लेख छ । बजेट भाषणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भनेका थिए, ‘निर्माणाधीन प्रसारणलाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्न ७० अर्ब विनियोजन गरेको छु ।’ तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेका रातो किताबमा भने सवा ४६ अर्ब मात्रै बजेट छ ।

मन्त्रालयअन्तर्गत ऊर्जातर्फ मात्रै कुल ७० अर्ब १२ करोड ४६ लाख रुपैयाँ बजेट छ । जलस्रोत तथा सिँचाइतर्फ ४३ अर्ब ९० करोड ३६ लाख बजेट छ । मन्त्रालयको कुल बजेट भने एक खर्ब १४ अर्ब दुई करोड ८२ लाख रुपैयाँ छ ।

ऊर्जाको बजेट ४५.२१ प्रतिशतले बढ्दा प्रसारणलाइन तथा सबस्टेसनतर्फको बजेट ५०.६५ प्रतिशतले बढेको हो । गत आवमा ऊर्जातर्फको बजेट ४८ अर्ब २९ करोड तीन लाख रुपैयाँ थियो । त्यसमा ३० अर्ब ६९ करोड ३३ लाख रुपैयाँ बजेट प्रसारणलाइनतर्फ थियो ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका अनुसार, विद्युत् आपूर्तिको मेरुदण्ड प्रसारणलाइन र सबस्टेसन पहिलोपटक सरकारको उच्च प्राथमिकतामा राखिएको छ । बजेटमार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा स्थापित गरेको श्रेष्ठको भनाइ छ ।
यसपटक विद्युत् उत्पादन, व्यापार, पूर्वाधार र औद्योगिकीकरणलाई एकीकृत रूपमा अघि बढाउन पर्याप्त बजेट विनियोजन गरिएको छ । साथै, विद्युत् आपूर्तिका लागि प्रसारणलाइन र सबस्टेसन महत्वपूर्ण हुने भएकाले यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइएको छ । आगामी वर्षभित्रै रणनीतिक महत्वका एक दर्जनभन्दा बढी प्रसारणलाइनको निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।

अहिले उत्पादन हुने विद्युत्‌कै लागि प्रचलित प्रसारणलाइनलगायतका संरचनाको क्षमताले पुग्ने अवस्था छैन । प्राधिकरणसँग पिपिए गरेकोबाट अबको केही वर्षमा तीन हजार मेगावाटभन्दा बढी विद्युत् थपिँदै छन्‌ । त्यो अवस्थामा पूर्वाधार संरचनाको क्षमता बढाउन नसकेमा विद्युत् खेर जाने अवस्था आउने जोखिम बढेको छ । त्यसैले, प्रसारणलाइन तथा सबस्टेसनलाई प्राथमिकतामा राखेर बजेट ल्याएको मन्त्रालयले जनाएको छ ।

निर्माणाधीन तथा विस्तारका चरणमा रहेका एक सय ३२ केभी र त्यसभन्दा बढी क्षमताका ४९ भन्दा बढी प्रसारणलाइन परियोजनाका लागि २१ अर्ब ६१ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालू आवमा यस परियोजनाका लागि १२ अर्ब ९८ करोड ९८ लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।

यसैगरी, देशभर वितरण प्रणाली स्तरोन्नति तथा विस्तारका लागि ११ अर्ब २९ करोड ६१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो देशभरका वितरण प्रणालीका लागि विनियोजन गरिएको बजेट हो । चालू आवमा यस शीर्षकमा आठ अर्ब ३९ करोड २५ लाख र गत आवमा नौ अर्ब बजेट विनियोजन गरिएको थियो ।

त्यस्तै, मन्त्रालयले ३३ केभी तथा त्योभन्दा बढी क्षमताका २० भन्दा बढी सबस्टेसन विस्तार परियोजनामा सात अर्ब २८ करोड ५४ लाख बजेट विनियोजन गरेको छ । चालू आवमा यस शीर्षकमा पाँच अर्ब २८ करोड सात रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यसअन्तर्गत विद्युतीय आपूर्ति सुधार परियोजनामा दुई अर्ब ५० करोड १७ लाख बजेट विनियोजन गरिएको छ ।

साथै, नेपाल–भारत विद्युत् प्रसारण परियोजनाका लागि एक अर्ब ६२ करोड बजेट विनियोजन गरिएको छ । यसअन्तर्गत रहेको चार सय केभीको हटौँडा–ढल्केबर–इनरुवा प्रसारणलाइनमा ७५ करोड, आम्दानी व्यवस्थापन प्रणलाी परियोजनामा ५४ करोड रुपैयाँ र संस्थागत सुदृढीकरण परियोजनामा ३३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यसो त, सरकारले राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलाई दिने बजेटमा पनि उच्च वृद्धि गरेको देखिन्छ । प्रसारणलाइन निर्माण छुट्टै कम्पनीमार्फत गर्ने गरी सरकारले १० वर्षअघि यो संस्था स्थापना गरेको थियो । तर, विगतमा यसका लागि बजेट कम मात्र छुट्याउने गरिएको थियो । अघिल्लो आवमा २० करोड र चालू आवमा १८ करोड ६५ लाख रुपैयाँ मात्रै बजेट पाएको यस कम्पनीलाई आगामी आवका लागि दुई अर्ब तीन करोड ५५ लाख बजेट विनियोजन गरिएको छ ।

1

Scroll to Top