सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत स्वर्ण पदक (गोल्ड अवार्ड) प्राप्त गर्दै विश्वमञ्चमा ठुलो सफलता हासिल गरेको छ । बैंकले डिजिटल प्रविधिको उच्चतम् प्रयोगमार्फत ग्राहकहरूलाई डिजिटल माध्यममा सक्रियतापूर्वक आबद्ध गराउन सफल भएको भन्दै ‘म्याक्सिमाइजीङ कस्टोमर इंगेजमेन्ट–डिजिटल फर्स्ट बैंकिङ’ विधामा यो उत्कृष्ट उपाधि चुमेको हो ।
विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासहरूको कडा मूल्यांकन र तीव्र प्रतिस्पर्धाका आधारमा यो प्रतिष्ठित अवार्ड प्रदान गरिने गरिन्छ, जसमा सिद्धार्थ बैंकको प्रयास सर्वोत्कृष्ट ठहरिएको हो । यो महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्मानले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ क्षेत्रप्रतिको निरन्तर प्रतिबद्धता र ग्राहक केन्द्रित सेवालाई विश्वस्तरमै बलियो गरी स्थापित गरिदिएको छ ।
बैंकले आफ्ना ग्राहकहरूलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने स्पष्ट उद्देश्यका साथ पछिल्लो समय डिजिटल पूर्वाधार र सेवाहरूमा उल्लेख्य लगानी तथा विस्तार गर्दै आएको छ । विशेष गरी मोबाइल बैंकिङको परिष्कृत रूप, पेपरलेस क्युआर भुक्तानी, प्रविधिको प्रयोगबाटै तुरुन्तै पाइने क्युआर कर्जा, भर्चुअल क्रेडिट कार्ड र घरमै बसेर सुरक्षित रूपमा डिजिटल खाता सञ्चालन गर्न सकिने जस्ता अनेकौँ नवीन सुविधाहरूमार्फत बैंकले ग्राहकहरूलाई छिटो र सुविधाजनक सेवा उपलब्ध गराउँदै आएको छ ।
डिजिटल प्रविधिको विकास र प्रयोगमा बैंकले चालेका यिनै ठोस कदमहरूको कदर स्वरूप प्राप्त यस अवार्डले आगामी दिनमा थप साहसी र ऊर्जावान् भएर अघि बढ्न बैंक परिवारलाई ठुलो प्रोत्साहन मिलेको छ । यस अन्तर्राष्ट्रिय उपाधिले सिद्धार्थ बैंकलाई भविष्यमा अझ व्यवस्थित, परिष्कृत र सुरक्षित ढङ्गले ग्राहक सेवामा समर्पित हुन तथा आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै बैंकिङ क्षेत्रमा नयाँ आयाम थप्न थप प्रेरित गरेको बैंकले जनाएको छ ।


