Banijya News

गायिका मेलिना राई र सियोन महर्जनको ‘कहीँ नभाको जात्रा’ सार्वजनिक

1
1.0K Shares

नेपाली सङ्गीत आकाशमा लोकप्रिय गायिका मेलिना राई र नवोदित गायक सियोन महर्जन (क्षितिज) को युगल स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘कहीँ नभाको जात्रा’ सार्वजनिक भएको छ। दर्शक तथा स्रोताको रोजाइमा पर्ने खालको यो नयाँ गीतलाई हालै बजारमा ल्याइएको हो।

युवापुस्ताको रुचि र आधुनिक सङ्गीतको धारलाई ध्यानमा राखेर तयार पारिएको यस गीतमा योगेन्द्र उपाध्यायको शब्द रचना तथा उत्कृष्ट सङ्गीत सिर्जना रहेको छ। गीतलाई प्राविधिक रूपमा स्तरीय बनाउन शङ्कर लिम्बूले रेकर्डिस्टको भूमिका निर्वाह गरेका छन् भने चर्चित सङ्गीतकार विश्व अधिकारीले यसको सङ्गीत संयोजन (अरेन्जमेन्ट), मिक्सिङ र मास्टरिङको जिम्मेवारी कुशलतापूर्वक निभाएका छन्।

म्युजिक भिडियोको भिजुअल पक्षलाई निकै आकर्षक र जीवन्त बनाइएको छ, जसमा गायक सियोन महर्जन आफैँ र नवनायिका खुसी कार्कीले मुख्य कलाकारका रूपमा दमदार अभिनय तथा नृत्य प्रस्तुत गरेका छन्। भिडियोको निर्देशन र कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन्, जसले कलाकारहरूको प्रस्तुतिलाई पर्दामा निकै कलात्मक ढङ्गले उतारेका छन्। चर्चित छायाकार उत्सव दाहालले आफ्नो क्यामरामार्फत भिडियोका दृश्यहरूलाई सुन्दर ढंगमा कैद गरेका छन् भने मनोज कार्कीको स्तरीय सम्पादन (एडिटिङ) र उत्कृष्ट कलर ग्रेडिङले भिडियोलाई अन्तर्राष्ट्रिय स्तरको लुक दिएको छ।

यस विशेष साङ्गीतिक परियोजनाका निर्माता डा. साइअन महर्जन हुन्। भिडियोको बजार तथा निर्माण व्यवस्थापनको पाटोलाई निर्मल न्यौपानेले सम्हालेका छन् भने क्षितिज महर्जनको प्रस्तुतिमा यो भिडियो स्रोतामाझ आएको हो। निर्माण टिमका अनुसार यो भिडियो गायक सियोन महर्जनकै आधिकारिक युट्युब च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरिएको हो। स्मरणरहोस्, गायक सियोन महर्जन नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ सिजन ७ मा ‘टिम मेलिना’ को तर्फबाट उत्कृष्ट प्रतिस्पर्धा गर्दै ‘टप ३’ फाइनलिस्ट बन्न सफल भएका प्रतिभाशाली गायक हुन्। रियालिटी शोमा गुरु र चेलाका रूपमा देखिएका मेलिना र सियोनको यो सहकार्यलाई सङ्गीत क्षेत्रमा निकै चासोका साथ हेरिएको छ।

1

Scroll to Top