देशकै ठूलो बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर यतिबेला नेतृत्व अभावका कारण अस्तव्यस्त बनेको छ। गत चैत २० गते निवर्तमान अध्यक्ष डा. विजय न्यौपानेको कार्यकाल सकिएपछि नयाँ अध्यक्ष नियुक्तिमा भएको ढिलाइ र कार्यकारी निर्देशक पदसमेत निमित्तको भरमा चल्दा अस्पतालको दैनिक प्रशासनिक तथा नीतिगत काम ठप्प भएको हो।
नेतृत्व नहुँदा अस्पतालले कमाएको रकम आम्दानी खाताबाट खर्च खातामा सार्न नमिलेपछि खरिद गरिएका सामानको भुक्तानी रोकिएको छ भने कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले विगत दुई महिनादेखि तलब-भत्ता पाउन सकेका छैनन्। सेवानिवृत्त कर्मचारीको उपदान निकासा समेत रोकिँदा अस्पतालको आन्तरिक व्यवस्थापन भद्रगोल बनेको छ।
अर्कोतर्फ, सरकारले निजी अस्पतालमा बीमा कार्यक्रम बन्द गरेसँगै यहाँ बिरामीको चाप अस्वाभाविक रूपमा बढेको छ। पहिले दैनिक ८५० को हाराहारीमा आउने बिरामीको संख्या अहिले १,२०० नाघेको छ। सीमित पूर्वाधार र जनशक्तिका कारण समयमा सेवा दिन नसक्दा बिरामीका आफन्तले अस्पताल प्रशासन घेराउ र आन्दोलन गर्ने गरेका छन्, जसले गर्दा हुलहुज्जत र असुरक्षाको सामाना गर्नुपरिरहेको निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले गुनासो गरे।
यसैबीच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ अध्यक्षका लागि जेठ २८ गते ७ जना डाक्टरहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। सर्टलिस्टमा परेका उम्मेदवारलाई असार १ गतेभित्र आफ्नो ३ हजार शब्दको कार्ययोजना बुझाउन भनिए पनि अन्तर्वार्ता र प्रस्तुतीकरणको मिति अझै तोकिएको छैन। मन्त्रालयको सुस्त प्रक्रियाका कारण मन्त्रिपरिषद्ले कहिले अध्यक्ष नियुक्त गर्छ भन्ने टुंगो नलाग्दा अस्पतालको संकट झनै गहिरिँदै गएको छ।


