चालु आर्थिक वर्ष २०८२र८३ को १० महिनामा विकास बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्ममा १७ विकास बैंकहरुले ६ अर्ब २८ करोड ६८ लाख रुपैयाँ नाफा कमाएका छन् । विकास बैंकहरुको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ७५.२३ प्रतिशत बढी हो ।
गत आवको वैशाख मसान्तसम्म विकास बैंकहरुले समग्रमा ३ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका थिए । विकास बैंकहरुको कस्ट अफ फण्डमा सुधार, कर्जा व्यवस्थापनमा सुधार, संचालन खर्च नियन्त्रणसँगै केहीको खराब कर्जा अनुपातमा सुधार देखिएसँगै समग्रमा बैंकहरुको नाफामा सुधार देखिएको हो । सो अवधिसम्म चार बैंक मात्रै घाटामा छन् भने १३ बैंक नाफामा छन् । अघिल्लो आवको तुलनामा सर्वाधिक नाफा बढाउनेमा लुम्बिनी विकास बैंक रहेको छ । यो बैंकले ४२८.७० प्रतिशतले नाफा बढाएको छ ।
नाफामा रहेका सबैको मुनाफा गत आवको तुलनामा उल्लेख्य बढेको छ । चालु आवको वैशाख महिनासम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंक रहेका छन् । यी दुवै बैंक अर्ब क्लबमा प्रवेश गरेका छन् । गरिमाले १ अर्ब २० करोड ७९ लाख रुपैयाँ नाफा कमाउँदा मुक्तिनाथले १ अर्ब १० करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको तुलनामा गरिमाको नाफा ३८.९५ प्रतिशत वृद्धि भएको छ भने मुक्तिनाथको नाफा २६.१८ प्रतिशत वृद्धि भएको छ ।
त्यस्तै, शाइन रेसुंगाले ८९ करोड ३९ लाख, ज्योतिले ७२ करोड ४९ लाख, कामना सेवाले ६७ करोड २ लाख, लुम्बिनीले ६३ करोढ ६ लाख, सांग्रिलाले ५४ करोड ६० लाख र महालक्ष्मीले ४६ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, एक्सेलले १४ करोड ६३ लाख, मितेरीले १० करोड ३५ लाख, सप्तकोशीले ५ करोड ८६ लाख, ग्रीन डेभलपमेन्टले ४ करोड ५५ लाख र कर्पोरेट विकास बैंकले २ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ ।
सो अवधिसम्म चार बैंक भने घाटामा छन् । कर्णालीले २३ करोड ९६ लाख, नारायणीले ५ करोड ४९ लाख, सिन्धुले ३ करोड ७२ लाख र सालपा विकासले ८० लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।


