Banijya News

जमदार फुडले एकै वर्षमा गर्‍यो २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

1
1.0K Shares

 

दि जमदार ग्रुपद्वारा सञ्चालित तथा कृष्णकुमार गुप्ता अध्यक्ष रहेको खाद्य उत्पादक कम्पनी ‘जमदार फुड’ ले व्यवसायिक कारोबारमा तीव्र वृद्धि गर्दै एकै वर्षमा २ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल भएको छ। सन् २०१९ मा स्थापना भई चामल, गहुँ, चिनी, पिठो, तेल, गेडागुडी, मसला, कोदो, दाल र ड्राई फ्रुट जस्ता विभिन्न खाद्य सामग्रीहरू उत्पादन तथा बिक्री गर्दै आएको यस कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ४ करोड ६० लाख रुपैयाँको कुल कारोबार (टर्नओभर) गरेको छ।

यो प्रगति कम्पनीको विगतका वर्षहरूको तुलनामा निकै उत्साहजनक देखिन्छ, जसले सन् २०२३ मा २० करोड रुपैयाँ र सन् २०२४ मा ६० करोड ५० लाख रुपैयाँको मात्र कारोबार गरेको थियो। मुख्यगरी स्थानीय आउटलेट र स्वदेशी सुपरमार्केटहरू मार्फत आफ्नो व्यापार विस्तार गरिरहेको कम्पनीले चालु आर्थिक वर्षको सुरुवाती ९ महिनाको अवधिमा मात्रै १ अर्ब ५४ करोड रुपैयाँको कारोबार गरिसकेको छ।

व्यापारको आकार उल्लेख्य रूपमा बढे पनि कम्पनीको नाफाको मार्जिन र वित्तीय सूचकहरूमा भने केही दबाब तथा उतारचढाव देखिएको छ। गत आर्थिक वर्षमा कम्पनीको नाफा मार्जिन ३.२३ प्रतिशतमा सीमित भएको छ, जुन सन् २०२४ मा ५.०६ प्रतिशत रहेको थियोस त्यस्तै गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ०.७७ प्रतिशत मात्र कायम भएको छ। वित्तीय संरचनाको दृष्टिकोणबाट हेर्दा जमदार फुड उच्च ऋणभारयुक्त अवस्थामा रहेको देखिन्छ। कम्पनीको समग्र गियरिङ अनुपात गत आर्थिक वर्षसम्म २.६५ गुणा रहेको छ, यद्यपि ४ करोड ३० लाख रुपैयाँ बराबरको अतिरिक्त इक्विटी (सेयर पुँजी)  लगानी थपिएका कारण यो अनुपात सन् २०२४ को २.९८ गुणाको तुलनामा केही सुधारिएको हो ।

कम्पनीको ऋण भुक्तानी गर्ने तथा अन्य वित्तीय क्षमताहरू मध्यम स्तरमा रहेका छन्। गत आर्थिक वर्षमा कम्पनीको ब्याज भुक्तानी क्षमता (इन्ट्रेस्ट कभरेज रेसियो) १.७० गुणा कायम भएको छ, जुन सन् २०२४ मा १.७६ गुणा थियो। यसैगरी, कुल ऋण र स्थूल नगद सञ्चिती (डेटरइबिटिडिए) अनुपात गत आर्थिक वर्षमा २१.६२ गुणा रहेको छस नगद नाफामा वृद्धि भएका कारण यो अनुपात सन् २०२४ को ३५.८५ गुणाको तुलनामा केही घटेर सुधार आएको भए तापनि अझै पनि यो निकै उच्च स्तरमै देखिन्छ। व्यवसायिक आवश्यकता र वित्तीय व्यवस्थापनका लागि कम्पनीले कुल १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको छ, जसमा दीर्घकालीन कर्जाका लागि १ करोड ८२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ४८ करोड १७ लाख रुपैयाँ छुट्याइएको छ।

1

Scroll to Top