Banijya News

कडा अभिव्यक्ति र निर्माण संकटबीच सरकार-व्यवसायी टकराव: विकासको नाममा विधिको सीमाना कता ?

1
1.1K Shares

निर्माण क्षेत्रमा बढ्दो विवाद र सरकारी कठोर अभिव्यक्तिले नेपालको समकालीन शासनशैलीबारे गम्भीर बहस सुरु भएको छ। एकातिर सरकार काम नगर्ने ठेकेदारमाथि कडा कारबाही गर्ने अडानमा देखिएको छ भने अर्कोतर्फ निर्माण व्यवसायीहरूले राज्यकै नीतिगत कमजोरीका कारण क्षेत्र धराशायी भएको आरोप लगाइरहेका छन्।

यो विवादको जड केही महिनाअघि देखिएको राजनीतिक अभिव्यक्तिसँग जोडिन्छ। चुनावी अभियानका क्रममा प्रधानमन्त्री बनेका वालेन्द्र शाहले विकास निर्माणलाई जसरी पनि अघि बढाउनुपर्ने भन्दै कडा र विवादास्पद अभिव्यक्ति दिएका थिए। त्यसपछि गठन भएको सरकारबाट पनि उस्तै शैली दोहोरिएको देखिएको छ। विशेषगरी पूर्वाधार विकास मन्त्री सुनील लम्सालको पछिल्लो अभिव्यक्तिले बहसलाई अझ चर्काएको छ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाको अनुगमनका क्रममा मन्त्री लम्सालले काममा ढिलाइ गर्ने ठेकेदारलाई खोजेर ल्याउन र काम नगरे “खुट्टा भाँचिदिनू” भन्ने निर्देशन दिएका थिए। यो अभिव्यक्ति सार्वजनिक भएसँगै सरकारको कार्यशैलीबारे प्रश्न उठ्न थालेका छन्के- राज्य कानुनअनुसार चलिरहेको छ, वा व्यक्तिगत आदेश र आक्रोशले ?

सरकार भने आफ्नो निर्णयलाई विकासको गतिसँग जोडेर बचाउ गर्दै आएको छ। मन्त्रालय स्रोतका अनुसार पर्याप्त स्रोत–साधन हुँदाहुँदै पनि केही ठेकेदारले आयोजना ओगटेर बस्ने प्रवृत्ति देखिएको छ। यस्तो अवस्थामा ठेक्का तोड्ने र कानुनी कारबाही गर्ने तयारी गरिएको जनाइएको छ। सरकारको दाबी छ कि लामो समयदेखि अलपत्र रहेका ५८८ वटा आयोजनाको अध्ययन गरेर अब निर्णायक कदम चाल्न लागिएको हो।

तर, निर्माण व्यवसायीहरूले समस्या एकतर्फी नभएको स्पष्ट पार्दै आएका छन्। उनीहरूका अनुसार सरकारी निकायको ढिलासुस्ती, प्रक्रिया जटिलता र निर्णय नलिने प्रवृत्तिले काम प्रभावित भएको हो। वन क्षेत्रको अनुमति, साइट क्लियरेन्स, तथा समयमै म्याद थप नहुँदा धेरै आयोजना रोकिएका छन्। यसबाहेक भुक्तानी प्रक्रियामा हुने ढिलाइ र अनियमितताको आरोप पनि उनीहरूले लगाएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूका अनुसार काम सम्पन्न भएर पनि नापजाँच बाँकी रहेका आयोजनाको अर्बौं रकम अझै भुक्तानी हुन सकेको छैन। यसले व्यवसायीलाई आर्थिक रूपमा संकटमा पारेको उनीहरूको भनाइ छ। उनीहरूले सार्वजनिक खरिद ऐनअनुसार ‘सुविस्ताको आधारमा’ ठेक्का अन्त्य गरी फरफारक गर्ने विकल्प अघि सारेका छन्, जसले दीर्घकालीन विवाद अन्त्य गर्न सहयोग पुर्‍याउने उनीहरूको विश्वास छ।

मूल्य समायोजनको विषय पनि विवादको अर्को केन्द्र बनेको छ। सरकारले बजेटमार्फत यसको सम्बोधन गर्ने घोषणा गरे पनि कार्यान्वयनमा ढिलाइ हुँदा व्यवसायीहरू असन्तुष्ट छन्। निर्माण सामग्रीको मूल्य बढिरहँदा पुरानो दरमा काम गर्नुपर्ने अवस्थाले धेरै आयोजना प्रभावित भएका छन्। यही कारण केही समयअघि देशभरका निर्माण कार्य लगभग ठप्प भएका थिए।

सरकारको शैली केवल नीतिगत निर्णयमा मात्र सीमित छैन भन्ने आरोप पनि उठ्दै आएको छ। केही घटनामा मन्त्रीको प्रत्यक्ष हस्तक्षेप र सार्वजनिक रूपमा दबाब दिने प्रवृत्तिले लोकतान्त्रिक मूल्यमा प्रश्न उठाएको छ। निर्माण व्यवसायीहरू भन्छन्—यदि अदालत र कानुनी प्रक्रियालाई छाडेर मन्त्रीकै उपस्थितिमा समाधान खोजिने हो भने त्यसले संस्थागत शासन कमजोर बनाउँछ।

विपक्षी दलहरूले पनि सरकारको अभिव्यक्तिमाथि आलोचना गरेका छन्। उनीहरूका अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिले कानुनभन्दा बाहिरको भाषा प्रयोग गर्नु लोकतन्त्रका लागि खतरनाक संकेत हो। लोकतान्त्रिक शासन प्रणालीमा दण्ड र कारबाहीको स्पष्ट प्रक्रिया हुन्छ, जुन व्यक्तिगत आदेशबाट होइन, संस्थागत प्रणालीमार्फत कार्यान्वयन गरिन्छ।

यसबीच केही घटनाले सरकारको कार्यशैलीबारे थप प्रश्न उठाएका छन्। धनगढीमा एक श्रमिकको टेम्पो नष्ट गरिएको घटना होस् वा परीक्षा केन्द्रमा भेटिएका मोबाइलहरू नष्ट गरिएको विषय-यी सबैलाई राज्यशक्तिको कठोर प्रयोगका रूपमा हेरिएको छ। आलोचकहरू भन्छन्, यस्तो प्रवृत्तिले कमजोर वर्गमाथि अन्याय बढाउन सक्छ।

तर, सरकार समर्थकहरू भने यस्तो आलोचनालाई अतिरञ्जित ठान्छन्। उनीहरूका अनुसार वर्षौंसम्म ढिलाइ भएका आयोजना पूरा गर्न कडा निर्णय अपरिहार्य छ। विकासलाई प्राथमिकता दिने हो भने काम नगर्ने प्रवृत्तिलाई सहनु हुँदैन भन्ने उनीहरूको तर्क छ।

यद्यपि, मुख्य प्रश्न अझै उहीँ छ-विकास र विधिको शासनबीच सन्तुलन कसरी कायम गर्ने ? निर्माणमा ढिलाइ गर्ने ठेकेदारमाथि कारबाही आवश्यक भए पनि त्यो प्रक्रिया कानुनअनुसार हुनुपर्नेमा सबैको सहमति देखिन्छ। धम्की, अपमान वा सार्वजनिक दण्डको भाषाले समस्या समाधानभन्दा झन् जटिल बनाउन सक्ने विश्लेषकहरूको धारणा छ।

अन्ततः सरकारको मूल्यांकन केवल भौतिक संरचनाबाट होइन, उसले शक्ति कसरी प्रयोग गर्छ भन्ने आधारमा पनि हुन्छ। यदि विकासको नाममा कानुनी प्रक्रिया कमजोर पारिन्छ भने त्यसले दीर्घकालीन रूपमा लोकतान्त्रिक संरचनामै असर पार्न सक्छ। अहिलेको विवादले यही प्रश्नलाई सतहमा ल्याएको छ-नेपालमा विकासको बाटो कानुनभित्रै अगाडि बढ्छ, कि डर र दबाबको भरमा ?

सरकार र निर्माण व्यवसायीबीचको यो टकराव निकट भविष्यमा समाधान हुने संकेत कमजोर देखिन्छ। तर, दुवै पक्षबीच संवाद र सहमति नभए देशभरका हजारौं आयोजना प्रभावित हुने निश्चितजस्तै छ। त्यसैले समाधानको बाटो कडा भाषण होइन, पारदर्शी प्रक्रिया र पारस्परिक विश्वासमै खोजिनुपर्ने देखिन्छ।

1

Scroll to Top