नेपाल सरकारले १८ वर्ष पुरानो ‘कम्पनी ऐन, २०६३‘ लाई समयानुकूल परिमार्जन गर्दै नयाँ युग सुहाउँदो मस्यौदा सार्वजनिक गरेको छ । बदलिँदो वैश्विक व्यावसायिक वातावरण, डिजिटल अर्थतन्त्र र स्टार्टअप संस्कृतिलाई सम्बोधन गर्न ल्याइएको यस नयाँ ऐनले नेपालको कर्पोरेट क्षेत्रमा ठुलो प्रशासनिक तथा कानुनी सुधार ल्याउने अपेक्षा गरिएको छ । यस मस्यौदाले पुराना र परम्परागत प्रावधानहरूलाई पूर्ण रूपमा प्रतिस्थापन गर्दै कम्पनीहरूको स्थापना, सञ्चालन र खारेजी प्रक्रियालाई निकै आधुनिक र खुकुलो बनाएको छ ।
यस मस्यौदाको सबैभन्दा ठुलो परिवर्तन पब्लिक कम्पनीहरूको वर्गीकरण र तिनको न्यूनतम चुक्ता पुँजीमा देखिएको छ । विगतमा जुनसुकै पब्लिक कम्पनी स्थापना गर्न केवल एक करोड रुपैयाँ भए पुग्ने व्यवस्था रहेकामा अब देशको आर्थिक आकार र जोखिमका आधारमा यसलाई श्रेणीगत रूपमा बढाइएको छ । नयाँ व्यवस्था अनुसार सेयर बजारमा सूचीकृत नहुने पब्लिक कम्पनीको न्यूनतम पुँजी पाँच करोड रुपैयाँ र सूचीकृत हुने कम्पनीको हकमा कम्तीमा २५ करोड रुपैयाँ हुनुपर्ने बाध्यात्मक नियम प्रस्ताव गरिएको छ । साथै, दूरसञ्चालन, बैंक, बीमा र खानी जस्ता ठुला क्षेत्र र ५० करोडभन्दा बढी वैदेशिक लगानी भएका कम्पनीहरू अनिवार्य रूपमा पब्लिक कम्पनीमै दर्ता हुनुपर्नेछ ।
नेपाली कानुनी इतिहासमै पहिलो पटक यस मस्यौदाले नवप्रवर्तन र प्रविधिमा आधारित व्यवसायलाई गति दिन ‘मेहनताना (स्वेट) सेयर‘ को क्रान्तिकारी अवधारणा भित्र्याएको छ । पुराना कानुनले केवल नगद वा भौतिक सम्पत्तिको लगानीलाई मात्र मान्यता दिने गरेकामा अब कम्पनीका संस्थापक वा कर्मचारीले आफ्नो ज्ञान र प्रविधि हस्तान्तरण गरेबापत विना नगद सेयर प्राप्त गर्न सक्नेछन्। यस्तो सेयर सामान्य कम्पनीमा कुल पुँजीको २० प्रतिशतसम्म र स्टार्टअपको हकमा ४० प्रतिशतसम्म दिन सकिने सहुलियतका साथै कर्मचारीलाई टिकाइराख्न ‘कर्मचारी सेयर योजना‘ समेत पहिलो पटक कानुनमा समेटिएको छ ।
वित्तीय सुशासन र अन्तर्राष्ट्रिय मापद०डको पालनाका लागि नयाँ मस्यौदाले ‘वास्तविक धनी‘ को स्वघोषणालाई कडाइका साथ अघि सारेको छ। विगतमा अरू कसैको नाममा बेनामी लगानी लुकाएर कालोधनलाई वैधानिक बनाउने जोखिम उच्च रहेकामा अब सेयर दर्ता किताबमा नाम भएको व्यक्ति र कम्पनीको वास्तविक लाभांश वा नियन्त्रण लिने मुख्य मालिक फरक भएमा त्यसको अनिवार्य स्वघोषणा गर्नुपर्नेछ। यसले नेपालको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई ठुलो बल पु¥याउने विश्वास गरिएको छ ।
साना तथा मझौला प्राइभेट उद्योगहरूलाई प्रशासनिक खर्चको ठुलो भारबाट मुक्ति दिन कम्पनी सचिवसम्बन्धी कानुनी सीमामा व्यापक हेरफेर गरिएको छ। यसअघि एक करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका सबै कम्पनीले अनिवार्य रूपमा व्यावसायिक कम्पनी सचिव नियुक्त गर्नुपर्ने झन्झट रहेकामा अब प्राइभेट कम्पनीको हकमा यो सीमा बढाएर ५० करोड रुपैयाँ पु¥याइएको छ। यसले साना उद्यमीलाई ठुलो कानुनी र आर्थिक राहत दिनेछ, यद्यपि पब्लिक र सूचीकृत कम्पनीहरूका लागि भने यो व्यवस्था सधैँ अनिवार्य नै रहनेछ।
व्यावसायिक सामाजिक उत्तरदायित्व (ऋक्च्) लाई पहिलो पटक कम्पनी कानुनकै एउटा अभिन्न अङ्ग बनाइएको छ। यसअघि ऐनमा यससम्बन्धी कुनै बाध्यात्मक प्रावधान नभएका बेला अब वार्षिक २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने प्रत्येक कम्पनीले आफ्नो खुद नाफाको कम्तीमा १ प्रतिशत रकम अनिवार्य रूपमा सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्नेछ। यसरी संकलित रकम शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विपद् व्यवस्थापन जस्ता तोकिएका पारदर्शी क्षेत्रमा मात्र खर्च गर्न पाइने कानुनी बाध्यता सिर्जना गरिएको छ।
दर्ता भएर पनि सञ्चालनमा आउन नसकेका वा बन्द अवस्थामा रहेका हजारौँ कम्पनीहरूको सहज बहिर्गमनका लागि ‘निष्क्रिय कम्पनी‘ को नयाँ अवधारणा ल्याइएको छ । विगतको झन्झटिलो र खर्चिलो खारेजी प्रक्रियाका कारण जरिबाना बढ्दै जाने त्रासले उद्यमीहरू कम्पनी बन्द गर्न हिचकिचाउने गरेका थिए । अब लगातार ३ वर्षसम्म विवरण पेस नगरेका कम्पनीहरूलाई रजिष्ट्रार कार्यालयले स्वतः खारेज गर्न सक्नेछ र ऐन प्रारम्भ भएको दुई वर्षभित्र आवेदन दिएमा जरिबाना रकम बढीमा ५० हजार रुपैयाँमा सीमित हुने विशेष सहुलियत दिइएको छ।
प्रविधिको उच्चतम प्रयोग गर्दै नयाँ मस्यौदाले कम्पनी प्रशासनलाई पूर्ण रूपमा कागजविहीन र आधुनिक बनाउने बाटो खोलेको छ। अब कम्पनी दर्तादेखि खारेजीसम्मका सबै प्रक्रिया र कागजात डिजिटल हस्ताक्षरमार्फत अनलाइनबाटै सम्पन्न हुनेछन ्। साथै, कम्पनीको साधारण सभा वा सञ्चालक समितिको बैठक भिडियो कन्फ्रेन्स वा अन्य विद्युतीय माध्यमबाट (भर्चुअल) गर्न सकिने र त्यसले पूर्ण वैधानिकता पाउने व्यवस्था गरिएकाले उद्यमीहरू सरकारी कार्यालय धाइरहनुपर्ने बाध्यता अन्त्य हुनेछ।
कम्पनीहरूको निर्णय प्रक्रियालाई बढी समावेशी र लोकतान्त्रिक बनाउन सञ्चालक समितिमा लैंगिक प्रतिनिधित्व र स्वतन्त्र सञ्चालकको नयाँ मापद०ड तोकिएको छ । विगतमा पब्लिक कम्पनीमा केवल १ जना स्वतन्त्र सञ्चालक भए पुग्नेमा अब समितिको आकार हेरी ७ जनासम्म सञ्चालक भए कम्तीमा १ जना र सोभन्दा बढी भए कम्तीमा २ जना स्वतन्त्र सञ्चालक अनिवार्य गरिएको छ । साथै, महिला सेयरधनीहरू रहेका पब्लिक कम्पनीहरूको सञ्चालक समितिमा कम्तीमा एक जना महिला सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्थाले कर्पोरेट क्षेत्रमा लैंगिक सुशासन स्थापना गर्न ठुलो मद्दत पुग्ने देखिन्छ ।


