Banijya News

जापानमा विदेशी नागरिकको भिसा शुल्कमा भारी वृद्धि

1
1.1K Shares

जापान सरकारले ४८ वर्षपछि पहिलोपटक विदेशी नागरिकका लागि भिसा र आवास सम्बन्धी शुल्कमा भारी वृद्धि गर्ने निर्णय गरेको छ। बढ्दो विदेशी जनसंख्याको प्रशासनिक व्यवस्थापन र खर्च धान्नका लागि आगामी जुलाई १ देखि लागू हुने गरी यो शुल्क परिमार्जन गरिएको हो। ‘द जापान टाइम्स’ का अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नयाँ दररेटलाई स्वीकृति दिएको हो।

संशोधित नयाँ नियम अनुसार अब सिंगल–इन्ट्री (एकपटक मात्र प्रवेश पाइने) भिसाको शुल्क ३ हजार येनबाट बढेर सिधै १५ हजार येन पुग्नेछ। त्यसैगरी, मल्टिपल–इन्ट्री (बहुप्रवेश) भिसाका लागि ६ हजार येनको ठाउँमा अब ३० हजार येन तिर्नुपर्नेछ। जुलाई १ वा त्यसपछि पेश गरिने सबै आवेदनहरूमा यो नयाँ नियम लागू हुने बताइएको छ। विदेशमन्त्री तोशिमित्सु मोटेगीले सन् १९७८ देखि भिसा शुल्क यथावत रहेको उल्लेख गर्दै देशको मुद्रास्फीति र विनिमय दरमा आएको उतारचढावका कारण यसलाई समयसापेक्ष बनाइएको प्रष्ट पारेका छन्। यद्यपि, यो वृद्धिले पर्यटक आगमनमा तत्काल कुनै नकारात्मक असर नपर्ने सरकारको विश्वास छ।

यो शुल्क वृद्धि गत महिना पारित भएको नयाँ कानुनको जगमा गरिएको हो, जसले सरकारलाई भिसा र आवास शुल्क विद्यमान दरभन्दा ३० गुणासम्म बढाउन सक्ने कानुनी अधिकार दिएको छ। यसअघि आवासीय स्थिति परिवर्तन गर्न, बसाइको अवधि थप्न वा स्थायी बसोबास (पीआर) का लागि निवेदन दिँदा कानुनी शुल्कको माथिल्लो सीमा १० हजार येन मात्रै थियो। तर नयाँ कानुनले यो सीमालाई बढाएर क्रमशः १ लाख येन र ३ लाख येन पुर्‍याएको छ।

यसै सीमाभित्र रहेर सरकारले बसाइ अवधि थप गर्ने र आवासीय स्थिति बदल्ने शुल्क हालको ५५ सय–६ हजार येनबाट बढाएर १० हजारदेखि ७० हजार येनको बीचमा पुर्‍याउने प्रस्ताव गरेको छ। साथै, स्थायी बसोबासको आवेदन शुल्क पनि १० हजार येनबाट बढाएर २ लाख येन पुर्‍याइनेछ। यी अतिरिक्त परिवर्तनहरू आगामी आर्थिक वर्षको अन्त्य अर्थात् सन् २०२७ मार्च ३१ भित्र पूर्ण रूपमा लागू गरिने लक्ष्य राखिएको छ।

जापानमा विदेशी नागरिकहरूको जनसंख्या द्रुत गतिमा बढिरहेको छ, जुन सन् २०२५ को अन्त्यसम्ममा कीर्तिमानी ४१ लाख ३० हजार पुगिसकेको छ। यो वृद्धि सँगै अध्यागमन र प्रशासनिक सेवाहरूको माग पनि ह्वात्तै बढेको छ। शुल्क वृद्धिबाट संकलन हुने अतिरिक्त राजस्वलाई तिनै विदेशी बासिन्दाहरूको व्यवस्थापन, जापानी भाषा शिक्षा कार्यक्रमहरूको संचालन र भिसाको म्याद नाघेर अवैध रूपमा बस्नेहरू विरुद्धको निगरानीलाई कडा बनाउन खर्च गरिने सरकारले जनाएको छ।

अमेरिका र जर्मनी जस्ता पश्चिमी मुलुकहरूको अध्यागमन शुल्कसँग तादात्म्यता मिलाउन पनि यो कदम चालिएको जापानको तर्क छ। जापानमा नेपालीहरूको संख्या ठूलो र उल्लेखनीय रहेकाले यो नयाँ शुल्क वृद्धिको प्रत्यक्ष आर्थिक भार त्यहाँ रहेका र जान चाहने नेपालीहरूमा पनि पर्ने निश्चित देखिन्छ।

1

Scroll to Top