राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन सत्र सुरु गरेका हुन् ।
आजबाट सुरु भएको रास्वपाको महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशनको उद्घाटनका क्रममा विभिन्न राजनीतिक दलका नेताहरुको समेत उपस्थिति रहेको थियो ।
रास्वपाको यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयन गर्नुअघि विधान संशोधन गरिसकेको छ । संशोधित विधानअनुसार, १९ पदाधिकारीसहित १५८ केन्द्रीय सदस्य रहने कार्यसमिति चुनिनेछन् ।
रास्वपाले पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नका लागि २२ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले एक सूचना जारी गर्दै महाधिवेशनका लागि आवश्यक सांगठनिक संरचना तयार गरेको जानकारी दिएको हो । पार्टीद्वारा सार्वजनिक विवरणअनुसार १० सदस्यीय केन्द्रीय निर्वाचन आयोग र त्यसअन्तर्गत रहने गरी १२ सदस्यीय ‘राष्ट्रिय महाधिवेशन निर्वाचन समिति–२०८३’ गठन गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी र उपप्रमुखमा डा. राम गुरुङ रहेका छन् । आयोगका सदस्यहरूमा कुमार आनन्द मिश्र, नारायण प्रसाद प्याकुरेल, सुमित्रा पण्डित, गोकुल सापकोटा, निश्चल सिंह भण्डारी, बिपि दाहाल, सौरेन्द्र बहादुर शाह र सुदन प्रसाद ज्ञवाली रहेका छन् ।
यसैगरी, महाधिवेशनलाई प्रत्यक्ष रूपमा सञ्चालन गर्न गठित निर्वाचन समितिमा वीरेन्द्र केएम, गणेशदत्त भट्ट, डा.दिनेश महतो, आयुष्मा अर्याल, भूपेन्द्रराज बस्नेत, मिलन कार्की, सार्थक भट्टराई र रामकुमार खतिवडा सदस्यका रूपमा चयन भएङ्का छन् । समितिको कार्यसम्पादनमा सहयोग पुर्याउन चार जना निर्वाचन कर्मचारीहरू समेत तोकिएको छ, जसमा शुभराज शिल्पकार, सेनु लामा तामाङ, राजेन्द्र कुमार श्रेष्ठ र मुकेश झा रहेका छन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले महाधिवेशनलाई ऐतिहासिक बनाउन र निर्वाचन प्रक्रियालाई पूर्ण लोकतान्त्रिक पद्धतिबाट सम्पन्न गर्न यो समितिले भूमिका खेल्ने उल्लेख गरेका छन् ।


