Banijya News

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, नीति र नेतृत्वमा केन्द्रित

1
1.0K Shares

स्थापनाको चार वर्षमै सहज बहुमतसाथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतबारबाट चितवनमा सुरु भएको छ । जुन महाधिवेशनले यो पार्टीको नेतृत्व चयन मात्र गर्दैन, आफ्नो नीतिसमेत प्रस्ट पार्नेछ ।

रास्वपाले पहिलो राष्ट्रिय महाधिवेशनबाट मुख्य एजेन्डाका रूपमा ‘नीति र नेतृत्व’को काम गर्ने पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी बताउँछन् । उनका अनुसार, नीतिमा पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ । अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापतिको राजनीतिक प्रतिवेदनमा छलफल भएर नेतृत्व निखारको काम हुन्छ ।

रास्वपा २०७९ को निर्वाचनबाट राष्ट्रिय राजनीतिमा अप्रत्याशित उदाएको थियो । २०८२ को निर्वाचनबाट दुई तिहाईको हाराहारीमा मत ल्याउँदै सबैभन्दा ठूलो पार्टी बनेर सत्ताको बागडोर सम्हालिरहेको छ ।

पहिलो पार्टीका रूपमा स्थापित भए पनि रास्वपाबारे स्पष्ट विचार, नीति र सिद्धान्त नभएको भन्दै टिप्पणी हुँदै आएको थियो । यही सन्दर्भमा हुन लागेको पार्टीको पहिलो महाधिवेशनले आफ्नो राजनीतिक विचार, सिद्धान्त र मार्गदर्शन कसरी र कस्तो तय गर्छ भन्ने विषयलाई महत्वका साथ हेरिएको छ । मुलुक र जनताप्रति लिने नीति र कार्यक्रमप्रति स्वयं रास्वपाकै धेरै नेता कार्यकर्ताका साथै अन्य राजनीतिक दलभित्र पनि यस महाधिवेशनलाई चासोका रूपमा हेरिएको छ ।

रास्वपाप्रति हुने गरेका विभिन्न टिप्पणीलाई चिर्दै रास्वपाले यही महाधिवेशनमार्फत् आफ्‌नो वैचारिक स्पस्टता देखाउने भएको छ । रास्वपाले अबदेखि आफ्नो एक मात्र सिद्धान्त ‘संवैधानिक समाजवाद’लाई अँगाल्ने निश्चितजस्तै भएको छ, जुन सिद्धान्तलाई रास्वपाले आफ्नो राजनीतिक दर्शनका रूपमा स्थापित गर्दै सोहीअनुसार संगठन, नेतृत्व र नीति अख्तियार गर्ने भएको छ ।

रास्वपाले आफ्नो नयाँ मार्गचित्रमा ‘बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र’ राजनीतिक दर्शनका रूपमा हुने प्रस्ताव गरेको छ । जसको अर्थ, नेपालका सबै नागरिकलाई समान अधिकार, स्वतन्त्रता र सम्मान प्राप्त होस् र राज्य कुनै एक विचार, जाति, धर्म, भाषा वा समुदायको मात्र नभई सबैको साझा घर बनोस् र सत्ता जनताको मतबाट स्थापित र जनताप्रति उत्तरदायी रहोस् भन्ने रहेको रास्वपाका नेताहरू बताउँछन् ।

लामो समय शासन सत्ता सम्हालेका काँग्रेस र एमाले र माओवादीजस्ता पुराना दलले देशलाई कुशासन र भ्रष्टाचारको दलदलमा भासेको आरोप लागिरहेको छ । यही बेला अस्वाभाविक जनमत पाएर उदाएको रास्वपाले मुलुकको विकास, रोजगारी, सुशासन र परराष्ट्रजस्ता विषयमा कस्तो नीति अख्तियार गर्ला भन्ने स्वाभाविक रूपमा चासो बढेका बेला महाधिवेशनले प्रस्ट पार्ने मञ्चसमेत प्रदान गरेको छ ।

रास्वपाले आफूलाई परम्परागत दलभन्दा फरक पहिचान दिने प्रयास गरिरहेको छ । नेपालका राजनीतिक पार्टीहरू कोही पुँजीवाद त कोही समाजवाद साम्यवादको आवरणमा राजनीति गरिरहेका बेला रास्वपाले भने एकमात्र नीति ‘संवैधानिक समाजवाद’ अँगाल्ने रास्वपाका नेता यज्ञमणि न्यौपाने बताउँछन् । महाधिवेशनमा सभापति रवि लामिछानेले पेस गर्ने राजनीतिक प्रतिवेदन तथा पार्टी विधानमा समेत ‘संवैधानिक समाजवाद’ पार्टीको एक मात्र मार्गदर्शन सिद्धान्तका रूपमा समेटिएको उनको भनाइ छ ।

आइतबारबाट सुरु भएको रास्वपाको महाधिवेशन तीन दिनसम्म चल्नेछ । रास्वपाको यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयन गर्नुअघि विधान संशोधन गरिसकेको छ । संशोधित विधानअनुसार, १९ पदाधिकारीसहित १५८ केन्द्रीय सदस्य रहने कार्यसमिति चुनिनेछन् ।

1

Scroll to Top