Banijya News

सुधार नहुँदा नेपाल पुन : एफएटीएफको ‘ग्रे लिस्ट’ मा यथावत

1
1.1K Shares

नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को खैरो सूची (ग्रे लिस्ट) मा यथावत रहेको छ । एसिया प्यासिफिक ग्रुप (एपीजी) ले औंल्याएका कमजोरीहरू, विशेष गरी अवैध धन नियन्त्रण, सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान र मुद्दा अभियोजनमा चित्तबुझ्दो सुधार हुन नसक्दा पेरिसमा सम्पन्न प्लेनरी बैठकले नेपाललाई पुनः सोही सूचीमा राख्ने निर्णय गरेको हो ।

यसअघि नेपाल २०८१ फागुन ९ गते पहिलोपल्ट यो सूचीमा परेको थियो । भर्खरै सम्पन्न बैठकबाट बोस्निया एन्ड हर्जिगोभिना र इराक खैरो सूचीमा थपिएका छन् भने अल्जेरिया र नामिबिया यसबाट बाहिरिन सफल भएका छन् । अन्तर्राष्ट्रिय अन्तरसरकारी निकाय एफएटीएफले कालोधनलाई वैधानिक बनाउन रोक्ने प्रयास कमजोर भएका देशहरूलाई खैरो सूचीमा राख्ने गर्दछ, जसका कारण दातृ निकायको आशंका बढ्ने र विदेशी सहायता वा लगानी कटौती हुन सक्ने जोखिम रहन्छ ।

यद्यपि, नेपालले आगामी सन् २०२७ को फेब्रुअरीसम्ममा यो सूचीबाट बाहिर निस्कने लक्ष्यका साथ तीव्र तयारी गरिरहेको छ । यसका लागि सरकारले विभिन्न १५ वटा एक्सन प्लान स्वीकृत गरी ‘वित्तीय लगानीसम्बन्धी रणनीति तथा कार्ययोजना (२०८१/८२–२०८५/८६)’ कार्यान्वयनमा ल्याएको छ । कानुनी संरचनाको ढिलाइ र कार्यान्वयनको कमजोरीका बाबजुद नेपालले एफएटीएफसँग ७ बुँदे विभिन्न प्रतिबद्धताहरू व्यक्त गरेको छ । जसमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा लगानीको जोखिम बुझ्ने, वाणिज्य बैंक, सहकारी, क्यासिनो र रियल इस्टेट क्षेत्रको नियमन सुधार्ने, हुन्डी तथा अवैध भुक्तानी सञ्चालकलाई कारबाही गर्ने, र अपराधबाट आर्जित सम्पत्ति जफत गर्ने जस्ता सुधारात्मक कदमहरू समेटिएका छन् ।

ग्रे लिस्टबाट मुलुकलाई शीघ्र मुक्त गराउन हाल नेपाल राष्ट्र बैंकले छुट्टै महाशाखा गठन गरी वित्तीय जोखिम न्यूनीकरणमा काम गरिरहेको छ भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान र अभियोजन कार्यलाई गति दिएको छ । अर्थतन्त्रको अनौपचारिक क्षेत्रको हिस्सा घटाउँदै संघीय आर्थिक नीति तर्जुमा गर्ने सरकारको योजना छ । विगत सन् २०१० (वि.सं. २०६६) तिर पनि यस्तै जोखिम टारेको नेपालले यसपटक पनि अन्तर-निकाय समन्वय सुदृढ गर्दै अदालतमा मुद्दा फर्स्योट र सम्पत्ति जफतको प्रक्रियालाई प्रभावकारी बनाएर चाँडै खैरो सूचीबाट बाहिरिने औपचारिक पहललाई निरन्तरता दिएको छ ।

1

Scroll to Top