प्रधानमन्त्री बालेन साहकी स्वकीय उपसचिव प्रकृति ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । असार ७ गते देखि चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा सोमबार आफ्ना निकटस्थहरूसँग छलफल गर्दै ढकालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
“म पदका लागि होइन, सुशासन, पारदर्शिता र जवाफदेहिताको अभियानलाई संस्थागत गर्न उम्मेदवारी दिन लागेको हुँ । राम्रो मान्छे नेतृत्वमा पुग्नुपर्छ भन्ने मेरो विश्वास हो, ”ढकालले भनिन् । चितवनकी २८ वर्षीया ढकाल देश परिवर्तनका लागि संवाद यात्राु अभियानकी संयोजकसमेत हुन् । ‘नाता भन्दा क्षमता, परम्परा भन्दा पारदर्शिता र अहिले नै जवाफदेहिता’ भन्ने मूल मन्त्र सहित उनले देशका १४ भन्दा बढी जिल्लाको भ्रमण गरी नागरिक, युवा, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालासँग प्रत्यक्ष संवाद गरेकी छन् । उनले काठमाडौं केन्द्रित राजनीतिबाट बाहिर परेका आवाजलाई राष्ट्रिय बहसमा ल्याउनु र नयाँ पुस्तालाई राजनीतिक चेतनासँग जोड्नु अभियानको मुख्य उद्देश्य रहेको बताएकी छन ।
ढकालले बेलायत सरकारको प्रतिष्ठित चेभेनिङ पूर्ण छात्रवृत्ति अन्तर्गत लन्डन स्कूल अफ इकनमिक्सबाट ग्लोबल हेल्थ पोलिसीमा एमएस्सीमा स्नातकोत्तर उपाधि हासिल गरेकी छन् । उनले गण्डकी मेडिकल कलेजबाट चिकित्सकीय प्रतिचित्रण प्रविधि विषयमा स्नातकोत्तर तथा किङ्स कलेज, नेपालबाट गैरनाफामूलक व्यवस्थापन विषयमा स्नातकोत्तर व्यवस्थापन ९एमबीए ० अध्ययन पूरा गरेकी छन् । साथै उनले अक्सफोर्ड विश्वविद्यालयबाट प्रणालीगत सोचसम्बन्धी तालिम पनि लिएकी छन् ।
पोखरा अनुसन्धान केन्द्रमा झण्डै चार वर्ष कार्यक्रम अधिकृतका रूपमा काम गरेकी ढकाल हाल युनाइटेड फर इम्प्याक्टकी कार्यकारी निर्देशक तथा आईएन ल्याबमा विश्वव्यापी स्वास्थ्य नीति प्रमुखका रूपमा पनि कार्यरत छिन् । रास्वपाको जारी महाधिवेशनमा उनको उम्मेदवारीलाई युवा नेतृत्व, सुशासन, पारदर्शिता र वैकल्पिक राजनीतिको एजेन्डालाई थप सशक्त बनाउने प्रयासका रूपमा हेरिएको छ ।


