कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्र्यु नेपाल प्रालिको संयुक्त ब्यानरमा निर्माण भएको प्रतिक्षित नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले सोमबार एक कार्यक्रमका बीच चलचित्रको फस्टलुक पोस्टर बाहिर ल्याएको हो ।
पोस्टर सार्वजनिक भएसँगै चलचित्रको प्रदर्शन मिति समेत तय गरिएको छ । निर्माण टोलीका अनुसार यो चलचित्र आगामी असोज २ गतेदेखि देशभरका सिनेमाघरहरूमा एकसाथ प्रदर्शनमा आउनेछ । पहिलो श्रृंखलाको व्यावसायिक सफलतापछि निर्माण भएको यस सिक्वेललाई लिएर दर्शक र चलचित्र वृत्तमा निकै चासो बढेको छ ।
पारिवारिक र सामाजिक कथावस्तुमा निर्माण भएको यस चलचित्रलाई स्थापित निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । चलचित्रको निर्माण सुलभ प्रतिक देउजा र समिक्षा देउजाले गरेका हुन् भने संगीतकार अर्जुन पोखरेल र निर्देशक देउजाकै संगीत यसमा सुन्न सकिनेछ ।
चलचित्रमा नेपाली सिनेमा जगत्का स्थापित तथा उदयमान कलाकारहरूको ठूलो जमघट देख्न सकिन्छ । मुख्य भूमिकामा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट र आर्यन सिग्देल रहेका छन् ।
त्यस्तै, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अशु महर्जन, अभयराज बराल, उत्तम केसी, शिवहरि बैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान तथा विनोदकुमार पौडेल लगायतको सशक्त अभिनय चलचित्रमा छ । विशेष आकर्षणको रूपमा बरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा अतिथि भूमिकामा देखिनेछन् ।
चलचित्रको जग मानिने पटकथा, संवाद तथा परिकल्पनालाई सेन, गोविन्द फुयाल र शिशिर चालिसेले संयुक्त रूपमा तयार पारेका हुन् ।
प्राविधिक रूपमा पनि चलचित्रलाई उत्कृष्ट बनाउने प्रयास गरिएको निर्माण पक्षको दाबी छ । चलचित्रलाई विष्णु घिमिरे ‘कल्पित’ र बिबेक बस्नेतले क्यामरामा कैद गरेका छन् भने सम्पादनको जिम्मेवारी मित्र डी। गुरुङले निभाएका छन् । सिङ्गो निर्माण प्रक्रियाको व्यवस्थापन ईश्वर घिमिरेले सम्हालेका छन् ।
सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका मुख्य पात्रहरूको लुक्स र भावलाई केन्द्रमा राखिएको छ, जसले कथाको गहिराइलाई झल्काउँछ । पारिवारिक ड्रामा र मनोरञ्जनको समिश्रण रहेको ‘झिँगेदाउ–२’ ले नेपाली समाजको मौलिक कथालाई पर्दामा उतार्ने विश्वास गरिएको छ ।
यसअघि प्रदर्शनमा आएको ‘झिँगेदाउ’ को पहिलो श्रृंखलाले बक्स अफिसमा बलियो छाप छोड्नुका साथै दर्शकको मन जित्न सफल भएको थियो । सोही साखलाई जोगाउँदै दोस्रो श्रृंखलाले पनि दर्शकलाई पूर्ण मनोरञ्जन दिने र हलसम्म आकर्षित गर्ने भरोसा निर्माता तथा निर्देशक देउजाले व्यक्त गरेका छन् ।


