Banijya News

आठ घण्टा भइसक्दा पनि सुरु भएन बन्द सत्र, रास्वपाको कार्यतालिका नै भद्रगोल

1
1.0K Shares

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भव्य रूपमा उद्घाटन सत्र सम्पन्न गरे पनि बन्द सत्रमा भने ठूलो व्यवस्थापकीय कमजोरी देखिएको छ । सोमबार बिहान ८ः३० बजे नै सुरु हुनुपर्ने बन्द सत्र आन्तरिक विवाद र ढिलासुस्तीका कारण समयमै सञ्चालन हुन सकेन । निर्धारित समयभन्दा ८ घण्टाभन्दा बढी बितिसक्दा समेत सत्र सुरु हुन नसकेपछि महाधिवेशनको सम्पूर्ण कार्यतालिका नै प्रभावित बनेको छ ।

पार्टीले तय गरेको प्रारम्भिक कार्यतालिका अनुसार सोमबार दिउँसो १ः२५ बजेभित्रै बन्द सत्रका सम्पूर्ण एजेन्डाहरू सकाउने योजना थियो । जसमा सभापतिको राजनीतिक प्रतिवेदन, अनुशासन र साङ्गठनिक प्रतिवेदनहरू प्रस्तुत गर्ने, विधान अनुमोदन गर्ने तथा अन्तरिम व्यवस्थापन समिति गठन गर्नेसम्मका कार्यसूची थिए । तर, ब्रेकफास्टपछि सुरु गर्ने भनिएको कार्यक्रम बिहानको खाना र दिउँसोको खाजा खाने समय घर्किसक्दा समेत सुरु हुन सकेन ।

नेतृत्वले सुरुमा उठ्न ढिलो भएको र ब्रेकफास्टका कारण ढिलाइ भएको दाबी गरे पनि वास्तविक कारण भने अर्कै रहेको प्रतिनिधिहरूले बताएका छन् । बन्द सत्र रोकिनुको मुख्य कारण महाधिवेशन प्रतिनिधिहरूको अन्तिम सङ्ख्या टुङ्गो लाग्न नसक्नु हो । निर्वाचन आयोग, केन्द्रीय समिति र प्रवक्ताले दिएका फरक–फरक तथ्याङ्कले रास्वपाभित्र प्रतिनिधिको विषय कति पेचिलो बनेको छ भन्ने प्रस्ट पार्छ । सुरुमा ३ हजार हाराहारी भनिएको प्रतिनिधि सङ्ख्या पछि बढेर ४ हजार ५ सयसम्म पुगेको छ ।

त्यसमाथि मधेश प्रदेशबाट ९६ जना प्रतिनिधि छुटाएको भन्दै तीव्र विरोध भएपछि सोमबार बिहान मात्रै विवाद मिलाउने प्रयास गरिएको थियो । प्रतिनिधिको नाम, थर र ठेगानामा भएका थुप्रै त्रुटिहरूले गर्दा पनि प्रक्रिया लम्बिएको हो ।

त्रुटि सच्याउन बिहान १० बजेसम्मको समय दिइए पनि दिउँसो ३ बजेसम्म निर्वाचन आयोगको कार्यालयमा कार्यकर्ताहरूको भिड लागिरहेको थियो । यसै अलमलका कारण सोमबार दिउँसो २ बजेदेखि ४ बजेका लागि तय गरिएको उम्मेदवार मनोनयन दर्ता प्रक्रिया समेत पूर्ण रूपमा प्रभावित भयो । नेतृत्व चयनदेखि आगामी सबै कार्यतालिकाहरू प्रभावित भएका छन् ।

बन्द सत्र सुरु नभएपछि देशैभरिबाट आएका प्रतिनिधि र कार्यकर्ताहरू बढ्दो गर्मीका कारण हल बाहिर छरिएर बस्न बाध्य भएका छन् । कोही चिसो वातावरणको खोजीमा यताउता डुलिरहेका छन् भने कोही गर्मी छल्न डीडीसीको बिक्री केन्द्रतिर झुम्मिएका देखिन्छन् । कार्यकर्ताहरूले नेतृत्वलाई छिटो प्रक्रिया अघि बढाउन दबाब दिइरहेका छन् ।

मंगलबार नयाँ नेतृत्व चयन गरेर महाधिवेशन सक्ने योजना रहे पनि, परिस्थिति हेर्दा महाधिवेशनको अवधि कम्तीमा एक दिन लम्बिनेमा नेता–कार्यकर्ताहरू निश्चित देखिएका छन् ।

1

Scroll to Top