Banijya News

रास्वपाका प्रस्तावक–समर्थकले उम्मेदवारी दिन नपाउने

1
1.0K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चितवनमा जारी छ । आइतबार उद्घाटन भएको यस महाधिवेशनको बन्दसत्र हिजो सोमबारबाट सुरु हुने भनिए पनि प्राविधिक कारणले हुन सकेन । र, आज मंगलबारबाट बन्दसत्र सुरु हुँदैछ । यसै बन्दसत्रमार्फत् नयाँ समिति बन्नेछ ।

रास्वपाको केन्द्रीय समिति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक बसेकाहरुले आफू स्वयम् उम्मेदवार बन्न नपाउने नयाँ नियम जारी गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले सोमबार सूचना जारी गर्दै उम्मेदवारी मनोनयन फारम दर्ता गर्दा प्रस्तावक र समर्थकका सम्बन्धमा पालना गर्नुपर्ने नियमहरू सार्वजनिक गर्दै यस्तो बन्देज लगाएको हो ।

रास्वपाको राष्ट्रिय महाधिवेशन अन्तर्गत कार्यपालिका सदस्य, पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि हुने निर्वाचन प्रक्रियामा उम्मेदवारका प्रस्तावक र समर्थकसम्बन्धी विशेष मापदण्ड लागू गरिएको छ । निर्वाचन आयोगले एक व्यक्तिले एकभन्दा बढी उम्मेदवारको प्रस्तावक बन्न नपाउने तथा समर्थकले पनि एकभन्दा बढी उम्मेदवारको पक्षमा हस्ताक्षर गर्न नपाउने प्रष्ट पारेको छ ।

सूचनाअनुसार, कार्यपालिका सदस्यका उम्मेदवारले १ जना प्रस्तावक र ११ जना समर्थक राख्नुपर्नेछ । त्यस्तै, पार्टी पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारले १ जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य रूपमा राख्नुपर्नेछ । उनीहरूको नाम, सम्पर्क नम्बर र हस्ताक्षर समेत मनोनयन फारममा समावेश हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, महाधिवेशन प्रतिनिधिको सूचीमा रहेका कुनै पनि सदस्य उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा ऊ स्वयम् उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ । आयोगले जारी गरेको सूचनामा उल्लिखित मापदण्ड विपरीत उम्मेदवारी मनोनयन फारम दर्ता भए त्यस्ता उम्मेदवारी स्वतः अमान्य हुने चेतावनीसमेत दिएको छ ।

1

Scroll to Top