औषधि व्यवस्था विभागले बजारमा सेरोफ्लो रोटाक्याप नामक औषधिको नक्कली संस्करण फेला परेको भन्दै सचेत रहन अपील गरेको छ । विभागले बुधबार एक सूचना जारी गर्दै भारतको सिक्किमस्थित सिप्ला लिमिटेडले उत्पादन गरेको श्वासप्रश्वास सम्बन्धी यो औषधिको नक्कली प्रतिलिपि बिक्री वितरण भइरहेको जनाएको हो ।
विभागले औषधिको सक्कली र नक्कली विवरण यकिन गरेर मात्र सिफारिस, बिक्री वितरण तथा प्रयोग गर्न ध्यानाकर्षण गराएको छ । विभागले सम्पूर्ण चिकित्सक, फर्मासिस्ट, अस्पताल, औषधि व्यवसायी तथा सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको हो ।
विभागका अनुसार, सक्कली र नक्कली औषधि पहिचान गर्न प्याकेजिङमा रहेका केही सूक्ष्म भिन्नताहरू हेर्नुपर्ने हुन्छ । सेरोफ्लो रोटाक्याप दमको उपचारमा प्रयोग हुने औषधि हो ।


