नेपालमा सञ्चालित लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्ममा एक अर्ब ६ करोड ४५ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालित तीन वटा लघु जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
तर, ती कम्पनीहरुले आर्जन गरेको उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.०७ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको ११ महिनामा लघु जीवन बीमा कम्पनीहरुले १ अर्ब ९ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।
प्राधिकरणको विवरण अनुुसार, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी ३८ करोड २१ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । तर, उक्त बीमा कम्पनीको आयमा यसपटक कमी देखिएको छ । चालु आवको जेठ महिनासम्ममा कमाएको बीमा शुल्क गत आर्थिक वर्षको तुलनामा ७.६२ प्रतिशतले कम रहेको छ ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ब्यवसाय समेत ५.४२ प्रतिशतले घटेर ३७ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
यसैगरी, चालु आवको ११ महिनामा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले भने आफ्नो ब्यवसायमा केही वृद्धि गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको ११ महिनामा ३० करोड ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।


