राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशन लम्बिएका कारण प्रतिनिधि सभाको बैठकको समय परिवर्तन गरिएको छ। यसअघि असार ११ गते बिहीबार बिहान ११ बजेका लागि तय भएको बैठकलाई सारेर असार १२ गते शुक्रबार दिउँसो १ बजेका लागि तोकिएको छ।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार सूचना जारी गर्दै प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको नयाँ समय निर्धारण गरेको जानकारी दिएका हुन ।
रास्वपाको असार ७ गतेदेखि सुरु भएको महाधिवेशन पूर्वनिर्धारित तालिका अनुसार बुधबार नै सकिनुपर्ने भए तापनि नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु हुन नसक्दा लम्बिन पुगेको हो। महाधिवेशनका कारण पार्टीका सांसदहरू चितवनमै व्यस्त रहेकाले संसद् बैठक प्रभावित भएको हो। प्रतिनिधि सभामा चौथो ठूलो शक्तिका रूपमा रहेको रास्वपाका २१ जना सांसदहरू संसद्मा निर्णायक भूमिकामा छन्।


