नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा साढे ४४ अर्बभन्दा बढीको बीमा शुल्क आर्जन गरेको देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनाको अवधिमा १४ निर्जीवन बीमा कम्पनीहरुले ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७१ प्रतिशतले बढी हो । कम्पनीहरुले गत आर्थिक वर्षको ११ महिनाको अवधिमा ३९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।
चालु आवको जेठ महिनासम्मा शिखर इन्स्योरेन्सले सर्वाधिक कुल बीमा शुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले सर्वाधिक पाँच अर्ब ६२ करोड ६३ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । कम्पनीको व्यवसाय गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.५२ प्रतिशतले बढी रहेको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बीमा शुल्क आर्जनमा ६ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा यस इन्स्योरेन्सको आय बढेर चार अर्ब ७७ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
१४ निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क वृद्धिदर हेर्ने हो भने हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्स अघि रहेका छन् । समीक्षा अवधिमा हिमालयनको व्यवसाय ३५ प्रतिशतले बढेर चार अर्ब ७६ करोड पुगेको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सको ३६ प्रतिशतले बढेर तीन अर्ब ७३ करोड रुपैयाँ पुगेको विवरणमा उल्लेख छ ।
यसैगरी, सिद्धार्थ प्रिमियरको ०.२९ प्रतिशतले बढेर तीन अर्ब ९२ करोड पुगेको छ भने आईजीआई प्रुडेन्सियलको १५ प्रतिशतले बढेर तीन अर्ब ९१ करोड र नेको इन्स्योरेन्सको ११ प्रतिशतले बढेर तीन अर्ब २८ करोड पुगेको छ ।
त्यस्तै, द ओरियन्टलको १५ प्रतिशतले बढेर दुई अर्ब ८० करोड, युनाइटेड अजोडको १४ प्रतिशतले बढेर दुई अर्ब ७६ करोड र सानिमा जिआईसीको ८ प्रतिशतले बढेर दुई अर्ब ५५ करोड पुगेको छ ।
चालु आवको जेठ महिनासम्ममा नेपाल इन्स्योरेन्सको ७ प्रतिशतले बढेर एक अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सले एक अर्ब ६४ करोड, राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ४२ करोड र नेशनल लाइफले एक अर्ब १९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
बीमा प्राधिकरणको तथ्यांकअनुसार, निर्जीवन बीमा कम्पनीहरूले जेठ महिनामा मात्रै ४ अर्ब ९ करोड ६ लाख रुपैयाँमाथिको बीमा व्यवसाय गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी नै कम्पनीहरूले ३ अर्ब ९३ करोड ६३ लाख रुपैयाँमाथिको बीमा व्यवसाय गरेका थिए । यस आधारमा गत आवको तुलनामा चालू आवको सोही अवधिमा निर्जीवन बीमा व्यवसाय ३.९२ प्रतिशतले वृद्धि भएको पाइएको छ ।


