हाइगर, किटन, जेएमसी, चेरी र वान्डा ब्रान्डको विद्युतीय गाडी बेच्ने शशीला मोटर्सले चालु आर्थिक वर्षको ९ महिनामा साढे ९२ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आवमा १ अर्ब ९ करोड २० लाख रुपैयाँ, सन् २०२४ मा ४३ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा २४ करोड रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीले हालका वर्षहरुमा आफ्नो सञ्चालन दायरा क्रमशः विस्तार गर्न सफल भएको छ । गत आवको ९ महिनाको अवधिमा कम्पनीले ७२ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले ९२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीको चालु आवको ९ महिनाको अवधिमा १४ प्रतिशत सञ्चालन नाफा मार्जिन कायम गरेको छ । जसले गर्दा ब्याज भुक्तानी क्षमता अनुपात ११.८ गुणा रहेको छ ।
कम्पनीको अहिले आन्तरिक नगद सञ्चितीको पूर्ण रुपमा संरक्षण गर्नुका साथै प्रवद्र्धकहरुले नियमित रुपमा थप इक्विटी लगानीमार्फत् कम्पनीलाई सहयोग गर्दै आएका छन् ।
कम्पनीको कुल बाह्य दायित्व तथा ट्यान्जिबल नेटवर्थ अनुपात पनि सुधार भएको छ । सन् २०२४ मा ८.३ गुणा रहेकोमा गत आवमा सुधार भई ३.८ गुणा रहेको थियो । चालु आवको ९ महिनाको अवधिमा थप सुधार भई २.२ गुणामा झरेको छ ।
कम्पनी सन् २०२३ को अन्त्यसम्ममा काठमाडौं र भक्तपुर जिल्लामा टाटा ब्रान्डको व्यवसायिक गाडी बेच्ने प्रादेशिक डिलर पनि थियो । कम्पनीको देशभर आफ्नो पाँच वटा शोरुम र दुई वटा प्रादेशिक डिलरशिप शाखा छन् ।
सन्तोष खतिवडाको ३० प्रतिशत, सचिन कायस्थाको ३० प्रतिशत, आशिष पौडेलको २० प्रतिशत र एम/एस कन्टिनेन्टल इन्भेष्टमेन्टको २० प्रतिशत स्वामित्व रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ९८ करोड रुपैयाँको रेटिङ गराएको छ ।


