राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ केन्द्रीय समितिको निर्वाचनले पार्टीभित्र महिला नेतृत्वको प्रभाव उल्लेखनीय रूपमा बढेको संकेत दिएको छ। निर्वाचनबाट चयन भएका केन्द्रीय सदस्यमध्ये झन्डै आधा महिला निर्वाचित भएपछि पार्टीको नीति निर्माण तहमा महिलाको भूमिका अझ सशक्त हुने अपेक्षा गरिएको छ।
रास्वपाको विधानअनुसार पार्टीको पूर्ण केन्द्रीय समिति १५८ सदस्यीय रहने व्यवस्था छ। त्यसमध्ये ९९ जना निर्वाचनबाट चयन हुनेछन् भने बाँकी ५१ जना सभापतिले मनोनयन गर्नेछन्। अब मनोनयन प्रक्रियामा जातीय, क्षेत्रीय तथा समुदायगत समावेशितालाई कसरी सन्तुलित बनाइन्छ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।
नेपालको संविधान र राजनीतिक दलसम्बन्धी कानुनले हरेक राजनीतिक दलका सबै तहका समितिमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ। रास्वपाले भने निर्वाचनबाटै झन्डै ५० प्रतिशत महिला नेतृत्व चयन गराएर कानुनी व्यवस्थाभन्दा माथिको प्रतिनिधित्व कायम गरेको छ। यसलाई पार्टीभित्र समावेशी अभ्यासको सकारात्मक उदाहरणका रूपमा हेरिएको छ।
निर्वाचनको नतिजाले भूगोलतर्फका अधिकांश क्षेत्रमा महिलाले उल्लेखनीय सफलता हासिल गरेको देखाएको छ। विशेषगरी बागमती प्रदेशबाट निर्वाचित सबै केन्द्रीय सदस्य महिला रहेका छन्। खुला प्रतिस्पर्धामा पनि महिलाको उपस्थिति उल्लेखनीय देखिएकाले उनीहरूले पुरुष उम्मेदवारसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्दै नेतृत्वमा आफ्नो स्थान सुरक्षित गरेका छन्।
बिहीबार सम्पन्न निर्वाचनमा कुल ३८४ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए। रातिसम्म सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार ९९ सदस्यीय निर्वाचित केन्द्रीय समितिमा ४९ जना महिला र ५० जना पुरुष निर्वाचित भएका छन्। यसअनुसार महिलाको प्रतिनिधित्व करिब ४९.५ प्रतिशत पुगेको छ, जुन नेपाली राजनीतिक दलहरूको सन्दर्भमा उल्लेखनीय उपलब्धि मानिएको छ।
विश्लेषकहरूका अनुसार यो परिणाम केवल संख्यात्मक उपलब्धि मात्र होइन, पार्टीभित्र निर्णय प्रक्रियामा महिलाको प्रभाव बढ्दै गएको संकेत पनि हो। विगतमा महिला सहभागिता प्रायः आरक्षण वा अनिवार्य व्यवस्थामा सीमित हुने गरेको भए पनि यसपटक प्रतिस्पर्धामार्फत ठूलो संख्यामा महिला निर्वाचित हुनु अर्थपूर्ण मानिएको छ।
अब सभापतिले गर्ने ५१ सदस्यको मनोनयनले रास्वपाको समग्र संरचना कस्तो बन्छ भन्ने प्रश्न महत्वपूर्ण बनेको छ। मनोनयनमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, पिछडिएका समुदाय तथा विभिन्न भौगोलिक क्षेत्रको सन्तुलित प्रतिनिधित्व मिलाउनुपर्ने अपेक्षा गरिएको छ। यसले पार्टीको समावेशी चरित्रलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।
हाल सार्वजनिक भएको निर्वाचन परिणामले रास्वपाभित्र महिला नेतृत्वको उदयलाई थप मजबुत बनाएको छ। आगामी दिनमा नीति निर्माण, संगठन विस्तार तथा राजनीतिक निर्णय प्रक्रियामा महिला नेतृहरूको सक्रिय भूमिका बढ्ने संकेत यस निर्वाचनले दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
यी हुन् महिला रास्वपाका ४९ महिला केन्द्रीय सदस्य
१. सोविता गौतम
२. तोसिमा कार्की
३. रञ्जु दर्शना
४. निशा डाँगी
५. इन्दिरा रानामगर
६. रिमा विश्वकर्मा
७. समीक्षा बाँस्कोटा
१०. प्रकृति ढकाल
८. गीता चौधरी
९. लिमा अधिकारी
११. टीका संग्रौला
१२. क्रान्तिशिखा धिताल
१३. जमुना शर्मा
१४. शुशीला कार्की पोखरेल
१५ आशिका तामाङ
१६. अनुष्का श्रेष्ठ
१७. निशा श्रेष्ठ
१९. करिश्मा कठरिया
२० जुली यादव
२१. कामिनी चौधरी
२२. सविना विक
२३. खिमा विक
२४ समिन्ना मियाँ
२५. निशा मेहता
२६. शोभा कार्की
२७. कल्पना थापा
२८ सुजाता तामाङ
२९ सुष्मा बस्नेत
३० सुनिता कुमारी चौधरी
३१ नमिता यादव
३२ मञ्जु सिंह
३३ प्रभा ढकाल
३४ विदुषी राणा
३५ आकांक्षा पोखरेल
३६ अनिता श्रेष्ठ
३७ पार्वती थापा
३८ पवित्रा थापा
३९ विष्णु कुमारी गुरुङ
४० कल्पना पाण्डे
४१ संगीता ढकाल
४२. शर्मिला खनाल
४३ ज्ञानु पौडेल
४४ सीता बादी
४५ विनिता कठायत
४६ टासी ल्हांगजोम
४७ मेनुका शाही
४८ जानिका जोशी
४९ चन्द्रा ऐर चाँदनी


