पछिल्ला वर्षअरुमा अलैँची निर्यात निरन्तर बढ्दो क्रममा छ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालबाट निर्यात हुने अलैँचीको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ । चालु आवको जेठ महिनासम्ममा अलैँची निर्यातबाट १२ अर्बभन्दा बढी आम्दानी भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार, चालु आवको ११ महिनामा नेपालले ६० लाख ३० हजार किलोग्राम अलैँची निर्यात गरेको छ । यसबाट १२ अर्ब एक करोड रुपैयाँ आम्दानी भएको छ । समीक्षा अवधिमा प्रशोधित भटमास तेलपछि अलैँची नेपालको दोस्रो ठूलो निर्यातजन्य वस्तु बनेको छ । आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदै अलैँची निर्यातबाट भएको आम्दानीले अघिल्ला सबै वार्षिक कीर्तिमान पार गरिसकेको छ । पछिल्लो तथ्यांकले नेपाली किसानले यस वर्ष राम्रो मूल्य पाएको संकेत गर्छ ।
आर्थिक वर्ष २०७९/८० मा नेपालले ९९ लाख ९० हजार किलोग्राम अलैँची निर्यात गरेको थियो, जुन हालसम्मकै उच्च परिमाण थियो । त्यसबाट आठ अर्ब २७ करोड रुपैयाँ मात्र आम्दानी भएको थियो । यसको तुलनामा यस वर्ष कम परिमाणमा निर्यात हुँदासमेत १२ अर्ब रुपैयाँभन्दा बढी आम्दानी भएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले ४३ लाख किलोग्राम अलैँची निर्यात गरी सात अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यस वर्ष प्रशोधित भटमास तेल, सूर्यमुखी तेल र गलैँचापछि अलैँची चौथो ठूलो निर्यात वस्तु बनेको थियो । त्यस्तै, आव २०८०/८१ मा ५० लाख १० हजार किलोग्राम अलैँची निर्यातबाट सात अर्ब ९४ करोड रुपैयाँ आम्दानी भएको थियो । त्यस बेला गलैँचापछि अलैँची दोस्रो ठूलो निर्यात वस्तु थियो ।
यसैगरी, आव २०७९/८० मा सबैभन्दा धेरै ९९ लाख ९० हजार किलोग्राम अलैँची निर्यात भए पनि यो चौथो ठूलो निर्यात वस्तुमै सीमित रह्यो । त्यसअघि आर्थिक वर्ष २०७८/७९ मा ५३ लाख ६० हजार किलोग्राम अलैँची निर्यातबाट चार अर्ब ८१ करोड रुपैयाँ आम्दानी भएको थियो । त्यस वर्ष अलैँची नेपालको सातौँ ठूलो निर्यात वस्तु बनेको थियो ।
पछिल्लो एक दशकमा अलैँची निर्यातबाट हुने आम्दानीमा उल्लेख्य उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७१/७२ मा तीन अर्ब ८३ करोड रुपैयाँमा झरेको आम्दानी त्यसपछिको वर्ष चार अर्ब ६३ करोड रुपैयाँ पुगेको थियो । तर आर्थिक वर्ष २०७३/७४ मा पुनः तीन अर्ब ९० करोड रुपैयाँमा सीमित भयो । त्यसपछि आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ सम्म वार्षिक निर्यात आम्दानी चार अर्ब रुपैयाँभन्दा माथि स्थिर रह्यो भने आर्थिक वर्ष २०७७/७८ मा बढेर ६ अर्ब ९३ करोड रुपैयाँ पुगेको थियो ।
भन्सार विभागको तथ्यांकअनुसार, नेपालबाट निर्यात हुने अधिकांश अलैँची भारत पुग्ने गरेको छ । व्यवसायीहरूका अनुसार, भारतमा यसको प्रशोधन, ब्रान्डिङ र प्याकेजिङ गरी पाकिस्तान तथा पश्चिम एसियाका देशसहित अन्तर्राष्ट्रिय बजारमा भारतीय उत्पादनका रूपमा पुनः निर्यात गरिन्छ । उनीहरूका अनुसार, यसरी पुनः निर्यात गरिएको नेपाली अलैँची अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो २८ अमेरिकी डलरसम्ममा बिक्री हुन्छ । नेपाली किसानले भने भारतीय खरिदकर्तालाई प्रतिकिलो दुई हजार रुपैयाँभन्दा कम अर्थात् करिब १४ अमेरिकी डलरमा बिक्री गर्न बाध्य छन् ।
नेपालमा उत्पादन हुने अधिकांश अलैँची पूर्वी पहाडी तथा हिमाली जिल्ला ताप्लेजुङ, इलाम, संखुवासभा, पाँचथर र तेह्रथुममा खेती गरिन्छ । विश्वको कुल अलैँची उत्पादनमध्ये ५५ प्रतिशतभन्दा बढी उत्पादन गर्ने सबैभन्दा ठूलो उत्पादक देश भए पनि नेपालले स्वदेशमै आधुनिक प्रशोधन र मूल्य अभिवृद्धि गर्न सकेको छैन । विश्व बजारमा नेपालमा उत्पादित अलैँचीको माग उच्च भए पनि नेपालले कच्चा पदार्थकै रुपमा भारतीय बजारमा सस्तो दरमा बिक्री गर्नुपर्दा उच्च निर्यात आम्दानी गर्न असफल भएको छ ।


