Banijya News

झापा आत्महत्या दुरुत्साहन मुद्दामा दुई आरोपीलाई उन्मुक्ति

1
1.0K Shares

झापामा करिब आठ महिना अघि भएको आत्महत्याको घटनासँग जोडेर दायर गरिएको आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरीमा चार जनालाई विपक्षी बनाइए पनि दुई जनालाई उन्मुक्ति दिई दुई जनाविरुद्ध मात्रै मुद्दा दायर गरिएको घटना सार्वजनिक भएको छ । इलाका प्रहरी कार्यालय दमकमा दर्ता भएको उजुरीको आधारमा चारमध्ये दुई जनाविरुद्ध मात्रै झापा जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

२०८२ साल कात्तिक १७ गते झापाको कमल गाउँपालिका घर भई सुनसरीको इटहरीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थामा कार्यरत प्रेम मिश्रले आत्महत्या गरेका थिए । कामधेनुमा बजार विक्रेताका रूपमा कार्यरत मिश्रले बजारबाट उठ्नुपर्ने करिब ७ लाख ५० हजार रुपियाँ नउठाएको भन्दै उक्त रकम असुल गर्न दबाब दिने क्रममा संस्थाका अध्यक्ष यादप ढकाललगायत चार जनाले मानसिक दबाब दिई आत्महत्या गर्न बाध्य पारेको आरोपसहित प्रहरीमा जाहेरी दर्ता गरिएको थियो ।

मृतक मिश्रका आफन्त कमल मिश्र र सहकारीका कर्मचारी तेजप्रसाद सुवेदीसमेतको जाहेरी प्रहरीमा दर्ता भएको थियो । जाहेरीमा कामधेनु सहकारीका अध्यक्ष यादप ढकाल, बजार अनुगमन समितिका संयोजक तथा सञ्चालक विज्ञान ढुङ्गाना, बजार प्रमुख रन्जित कुमार झा र बजार विक्रेता शेरबहादुर खड्का विपक्षी बनाइएका थिए । तर प्रहरीले अनुसन्धानका क्रममा अध्यक्ष ढकाल र सञ्चालक ढुङ्गानाको नाम हटाएर उनीहरूलाई उन्मुक्ति दिँदै बाँकी दुई जनाविरुद्ध मात्रै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेको आरोप लागेको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि चारै जनाविरुद्ध मुद्दा दायर गर्नुपर्नेमा दुई जनालाई मात्र प्रतिवादी बनाएर प्रक्रिया अघि बढाएको भन्दै प्रश्न उठाइएको छ । यस प्रकरणमा २०८२ साल मङ्सिरमा जाहेरी दर्ता गरिएको भए पनि करिब ६ महिनापछि मात्र मुद्दा दायर गरिएको देखिन्छ ।

जिल्ला अदालतको अभिलेखअनुसार नेपाल सरकार वादी रहेको उक्त मुद्दामा रन्जित कुमार झा र शेरबहादुर खड्का मात्र प्रतिवादी कायम गरिएको छ । अदालतले पक्राउ पुर्जी जारी गरेपछि दुवै जना उपस्थित भई हाल धरौटीमा छुटेका छन् ।

जाहेरीकर्ता तेजप्रसाद सुवेदीले चार जनाविरुद्ध जाहेरी दर्ता भए पनि प्रहरीको अनुसन्धानपछि दुई जनालाई मात्रै उन्मुक्ति दिइएको भन्दै असन्तुष्टि जनाएका छन ।

उनका अनुसार अध्यक्ष ढकाल र सञ्चालक ढुङ्गानाले मानसिक दबाब दिएको प्रमाण हुँदाहुँदै पनि अनुसन्धान एकतर्फी रूपमा गरिएको हो । “प्रहरीले हामीलाई र जाहेरीकर्तालाई समेत नबोलाई अनुसन्धान गरेको देखिन्छ,” उनले भने । उनले यस प्रकरणमा सेटिङ र चलखेल भएको आशङ्का समेत व्यक्त गरेका छन ।

यस विषयमा इप्रका दमकका मुद्दा फाँटका प्रहरी निरीक्षक नवीन राईले सूक्ष्म अनुसन्धान र प्रमाणका आधारमा दुई जनाको नाम हटाएर दुई जनाविरुद्ध मात्रै मुद्दा दायर गरिएको बताए ।

इप्रका दमकका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले आफू सूचना अधिकारी नभएकाले औपचारिक प्रतिक्रिया दिन नसक्ने बताए । जिल्ला सरकारी वकिलको कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता दिपेश झाले प्रहरीले पठाएको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा दायर गरिएको जानकारी दिए ।

उजुरी दर्ता भएको करिब ६ महिनापछि मात्रै मुद्दा दायर भएको र प्रारम्भिक अनुसन्धानमै दुई पदाधिकारीलाई उन्मुक्ति दिइएको विषयमा छानबिन आवश्यक रहेको मागसमेत उठेको छ ।

1

Scroll to Top