राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका नयाँ पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम आज साँझ ६:३० बजे महाधिवेशनस्थलकै हलमा आयोजना हुने भएको छ। गत आइतबारदेखि सुरु भएको महाधिवेशनमा नेतृत्व चयनको निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै महाधिवेशन आयोजक समितिले आजै साँझका लागि यो शपथग्रहणको समय तय गरेको हो।
महाधिवेशन आयोजक समितिले एक सूचना जारी गर्दै नवगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई कार्यक्रममा सहभागी हुन विशेष अनुरोध गरेको छ। निर्वाचन लगत्तै नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने तयारी स्वरूप आयोजकले आजै यो विशेष समारोहको आयोजना गर्न लागेको हो।


