नेपालमा विदेशी लगानीकर्ता आउन हिचकिचाउनु, स्टार्टअप युवाहरूको ‘बिजनेस आइडिया’ हुबहु चोरी हुनु, अनि जुम्लाको स्याउ वा पाल्पाली ढाकाको नाममा कमसल सामान बजारमा छ्यापछ्याप्ती बिक्नुको मुख्य जड ६ दशक पुरानो कानुनी व्यवस्था थियो । २०२२ सालमा बनेको ‘पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन’ले आजको आर्टिफिसियल इन्टेलिजेन्स , स्टार्टअप इकोसिस्टम र विश्वव्यापीकरणको युगलाई धान्न नसकेपछि सरकारले समग्र बौद्धिक तथा औद्योगिक सम्पत्तिको प्रशासनलाई आधुनिकीकरण गर्न ‘औद्योगिक सम्पत्ति सम्बन्धी ऐन, २०८२’ को मस्यौदा सार्वजनिक गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा राय–सुझावका लागि आह्वान गरिएको यस नयाँ विधेयकले नवप्रवर्तन, परम्परागत ज्ञान, जनस्वास्थ्य, वैदेशिक लगानी र संस्थागत सुशासनलाई एकैसाथ सम्बोधन गर्ने ऐतिहासिक प्रयास गरेको देखिन्छ ।
यस प्रस्तावित विधेयकले इलामको चिया, जुम्लाको स्याउ, मुस्ताङको मार्फा, गुल्मीको कफी वा भक्तपुरको जुजु धौ जस्ता रैथाने उत्पादनलाई ुभौगोलिक संकेतुका रूपमा औपचारिक दर्ता गर्ने व्यवस्था गरेको छ, जसले गर्दा निश्चित भूगोल बाहिरका कमसल र नक्कली सामानको बिक्री रोकिई स्थानीय किसानले उचित मूल्य पाउनेछन् । साथै, गाउँघरका वैद्यको आयुर्वेदिक सुत्र, जडीबुटीको ज्ञान वा आदिवासी समुदायको परम्परागत ज्ञानलाई स्वदेशी वा विदेशी कर्पोरेट घरानाले सित्तैमा लगेर पेटेन्ट दर्ता गर्न नपाउने गरी दफा ७५ मार्फत सम्बन्धित समुदायको पूर्वस्वीकृति र व्यावसायिक लाभको उचित हिस्सा दिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । अर्कोतर्फ, युवा उद्यमी र स्टार्टअपहरूको आइडिया, ब्रान्डिङ र प्याकेजिङ चोरी हुने डरलाग्दो प्रवृत्तिलाई रोक्न विधेयकको परिच्छेद–८ ले पहिलो पटक ‘व्यापारिक गोपनीयता’ लाई कानुनी मान्यता दिँदै कम्पनीका गोप्य सुत्र वा डेटाबेस चुहावट गर्ने कार्यलाई गम्भीर अपराध मानेको छ भने नवप्रवर्तनलाई प्रोत्साहन गर्न साना र स्टार्टअप उद्यमलाई आवेदन दर्ता शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
जनस्वास्थ्य र राष्ट्रिय संकटका बेला बहुराष्ट्रिय कम्पनीको एकाधिकार तोड्न विधेयकको परिच्छेद–२ (दफा १७) मा अनिवार्य अनुमतिपत्रको सन्तुलित व्यवस्था गरिएको छ, जसअनुसार महामारी वा कालोबजारीका बेला सरकारले पेटेन्ट धनीको मञ्जुरी विना नै रोयल्टी वा क्षतिपूर्ति दिएर स्वदेशी उत्पादकलाई औषधि वा अत्यावश्यक वस्तु उत्पादन गर्न अनुमति दिन सक्नेछ । प्रशासनिक ढिलासुस्ती र बिचौलियाको अन्त्यका लागि हाल उद्योग विभागको एउटा सानो शाखाले हेर्दै आएको कामलाई विस्थापित गरी सहसचिवको नेतृत्वमा छुट्टै स्वायत्त ‘औद्योगिक सम्पत्ति कार्यालय’ र उद्योग मन्त्रीको अध्यक्षतामा शक्तिशाली ’औद्योगिक सम्पत्ति प्रवर्द्धन परिषद्’ गठन गरिनेछ, जसले आवेदन पाएको ३५ दिनभित्र प्रारम्भिक परीक्षण गरी सम्पूर्ण सूचनाहरू विद्युतीय बुलेटिन र वेबसाइटमार्फत पारदर्शी रूपमा सार्वजनिक गर्नेछ । यसका साथै, विश्व व्यापार संगठनको ट्रिप्स सम्झौता र पेरिस महासन्धिका प्रावधानहरू समेट्दै नेपालमा दर्ता नभएका तर अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त चिन्ह (जस्तैः कोकाकोला, गुगल, टोयोटा आदि) को नक्कल दर्तामा रोक लगाइएको छ भने आधुनिक विद्युतीय मेसिनमा प्रयोग हुने माइक्रोचिपको सुरक्षाका लागि ‘इन्टिग्रेटेड सर्किटको लेआउट डिजाइन’ सम्बन्धी नयाँ कानुन थपिएको छ, जसले विदेशी पुँजी र प्रविधि हस्तान्तरणका लागि नेपाललाई सुरक्षित गन्तव्य बनाउनेछ ।
बौद्धिक सम्पत्तिको चोरी र नक्कल गर्ने विरुद्ध पुरानो कानुनको कमजोर व्यवस्थालाई परिमार्जन गर्दै परिच्छेद–११ मा कसुरको प्रकृति हेरी भारी जरिबाना र कडा सजायको प्रस्ताव गरिएको छ । जसअनुसार व्यापारिक चिह्न (ट्रेडमार्क) हुबहु नक्कल गर्ने वा भौगोलिक संकेत को दुरुपयोग गर्नेलाई १० लाखदेखि १५ लाख रुपैयाँसम्म, पेटेन्ट र व्यापारिक गोपनीयता भङ्ग गर्ने तथा पूर्वस्वीकृतिबिना परम्परागत ज्ञान उपयोग गर्नेलाई ५ लाखदेखि १० लाख रुपैयाँसम्म र औद्योगिक डिजाइन वा इन्टिग्रेटेड सर्किटको लेआउट डिजाइन नक्कल गर्नेलाई ३ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिबाना तोकिएको छ । विधेयकले गल्ती दोहोर्याउने व्यक्ति वा संस्थालाई प्रत्येक पटकका लागि तोकिएको जरिबानाको दोब्बर रकम असुल गर्ने कठोर सजायको व्यवस्था गर्नुका साथै पीडित पक्षलाई पुगेको वास्तविक नोक्सानी बराबरको क्षतिपूर्ति कसुरदारबाटै भराउने र बजारमा पठाइएका सबै नक्कली मालसामानहरू जफत गरी नष्ट गर्ने पूर्ण अधिकार नियमनकारी निकायलाई प्रदान गरेको छ ।


