अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबाट नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा.गोपालप्रसाद भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । बोर्डका नवनियुक्त अध्यक्ष डा. भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
लामो समयको अन्योलका बीच असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । शपथपछि अर्थमन्त्री डा. वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन् ।
अर्थमन्त्री वाग्लेले लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन विशेष ध्यान दिनुपर्ने सुझावसमेत दिएका छन् । कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्न उनले सुझाव दिएका छन् । अर्थमन्त्री डा.वाग्लेले सरकारले सबैखाले सहयोग गर्ने बताउँदै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउन निर्देशन दिएका छन् ।
अर्थमन्त्री डा. वाग्लेले पुँजी बजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका छन् । पुँजी बजार सुधारका लागि हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना के हुन्, त्यो पेस गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिएका हुन् । बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिएका छन् ।
कार्यक्रममा बोल्दै नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीज्यूको योजनाअनुसार पुँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताए । आफ्नो ज्ञान, अनुभव र सिपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।


