Banijya News

निर्जीवन बीमामा मोटर बीमाको दबदबा, अन्यको अवस्था कस्तो ?

1
1.0K Shares

पछिल्लो समयमा निर्जीवन बीमा गर्नेहरुको संख्या बढेसँगै निर्र्जीवन बीमा व्यवसाय पनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ४५ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय विभिन्न क्षेत्रमा रहे पनि सबैभन्दा धेरै हिस्सा मोटर बीमाको रहेको छ । समग्रमा मोटर बीमाको हिस्सा सबैभन्दा बढी अर्थात् ३०.२५ प्रतिशत रहेको छ । सवारी साधनको बढ्दो प्रयोग तथा अनिर्वाय बीमा गर्नुपर्ने सरकारको नीतिले मोटर बीमा व्यवसायमा वृद्धि भएको देखिएको हो ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमालेखबाट सबैभन्दा बढी बीमा शुल्क आम्दानी गरेका छन् । कम्पनीहरुले समग्र रुपमा कुल १५ लाख १२ हजार ५६६ वटा मोटर बीमालेख बिक्री गरी कुल १३ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् ।

त्यस्तै, सम्पत्ति बीमालेखबाट पनि धेरै बीमा आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले ४ लाख १७ हजार ६८० वटा सम्पत्ति बीमालेख बिक्री गरी १० अर्ब ७७ करोड १४ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको तथ्यांक छ ।

तथ्यांकअनुसार, इन्जिनियर तथा ठेक्का जोखा बीमालेखबाट निर्जीवन बीमा कम्पनीहरुले ८ अर्ब ६३ करोड १७ लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन् । यस अवधिमा कम्पनीहरुले ३१ हजार ४७४ वटा बीमा पोलिसी बिक्री गरी उक्त रकम बराबरको आम्दानी गर्न सफल भएका छन् ।

कम्पनीहरुले विविधबाट ४ अर्ब ५५ करोड ८१ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले यस अन्तर्गत १ लाख ५६ हजार २५७ वटा बीमालेख बिक्री गरेका छन् । बैशाख महिनासम्ममा सामुद्रिक बीमालेखबाट ३ लाख ७६ हजार २८९ वटा बीमालेख बिक्री गरी २ अर्ब ८० करोड ४० लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेको देखिएको छ ।

चालु आवको ११ महिनामा हवाई बीमालेख मार्फत २२२ वटा बीमालेख बिक्री गरी कुल २ अर्ब २८ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ । त्यस्तै, कृषि तथा बाली बीमालेख मार्फत १ लाख ४६ हजार ८०४ वटा बीमालेख बिक्री गरी कुल १ अर्ब ५३ करोड ७३ लाख रुपैयाँको बीमाशुल्क आर्जन भएको छ ।

कम्पनीहरुले सबैभन्दा कम लघुबीमा मार्फत बीमाशुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले लघू बीमालेख मार्फत १ अर्ब २० करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको विवरणमा उल्लेख छ ।

1

Scroll to Top