Banijya News

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट, नेपालमा के होला ?

1
1.0K Shares

अन्तर्राष्ट्रिय बजारमा मङ्गलबार कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। मध्यपूर्वमा जारी तनावबीच इरान र अमेरिकाबीच कतारको दोहामा सम्भावित कूटनीतिक वार्ताको चर्चा बढेसँगै विश्व बजारमा तेलको मूल्य ओरालो लागेको हो। लगानीकर्ताहरूले द्वन्द्व थप चर्किने सम्भावना तत्काल कम हुन सक्ने आकलन गरेपछि तेलको भाउमा दबाब परेको विश्लेषकहरूको भनाइ छ। यद्यपि, क्षेत्रीय सुरक्षा अवस्था अझै पूर्ण रूपमा सामान्य नभएकाले बजारमा सतर्कता भने कायमै रहेको छ।

चार महिनादेखि जारी क्षेत्रीय तनावपछि कायम गरिएको अस्थायी युद्धविराम अझै पनि संवेदनशील अवस्थामा रहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्। युद्धविराम कायम भए पनि स्थायी समाधान ननिस्किएकाले लगानीकर्ताहरूले सावधानीपूर्वक बजार गतिविधि नियालिरहेका छन्। यसैबीच विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा कच्चा तेलको माग अपेक्षाअनुसार बढ्न नसक्नु पनि मूल्य घट्नुको अर्को प्रमुख कारण बनेको छ। औद्योगिक उत्पादन र आर्थिक गतिविधिमा अपेक्षित सुधार नआएपछि विश्वव्यापी ऊर्जा मागमा समेत दबाब परेको देखिएको छ।

मंगलबार लन्डनस्थित आईसीई एक्सचेञ्जमा कारोबार हुने अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य करिब ०.९ प्रतिशतले घटेर प्रति ब्यारेल ७२ डलर ५१ सेन्टमा पुगेको छ। यो मूल्य गत महिनाको अन्तिम साताको तुलनामा करिब २० डलर अर्थात् झण्डै २२ प्रतिशतले कम हो। केही साताअघि युद्धका कारण तीव्र रूपमा बढेको मूल्य अहिले क्रमशः घट्दै फेब्रुअरीको अन्त्यतिरको स्तर नजिक पुगेको छ।

यस्तै, अमेरिकी बजारमा कारोबार हुने वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य पनि ०.६ प्रतिशतले घटेर प्रति ब्यारेल ७० डलर ३६ सेन्टमा झरेको छ। मे २९ को तुलनामा डब्ल्यूटीआईको मूल्य करिब १७ डलर अर्थात् १९ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय बजार तथ्यांकले देखाएको छ। यसले विश्व ऊर्जा बजारमा तत्काल आपूर्ति संकटको जोखिम केही कम भएको संकेत दिएको विश्लेषण गरिएको छ।

बजार विश्लेषकहरूका अनुसार दोहामा इरान र अमेरिकाबीच सम्भावित संवादको वातावरण बन्न थालेपछि लगानीकर्ताहरूले सकारात्मक संकेत लिएका छन्। केसीएम ट्रेड्सका प्रमुख बजार विश्लेषक टिम वाटररले कूटनीतिक पहल सफल भएमा मध्यपूर्वमा तनाव कम हुन सक्ने अपेक्षाले बजारमा मूल्य घटेको बताए। उनका अनुसार लगानीकर्ताहरू अहिले सम्भावित वार्ताको परिणामलाई ध्यानपूर्वक मूल्याङ्कन गरिरहेका छन्।

यद्यपि उनले स्ट्रेट अफ होर्मुज क्षेत्रबाट हुने तेल आपूर्ति पूर्ण रूपमा सुरक्षित र सामान्य भइसकेको स्पष्ट प्रमाण अझै नदेखिएको उल्लेख गरे। विश्वको ठूलो परिमाणमा तेल ढुवानी हुने यो समुद्री मार्गमा कुनै पनि अवरोध उत्पन्न भएमा अन्तर्राष्ट्रिय बजार पुनः अस्थिर बन्न सक्ने भएकाले लगानीकर्ताहरू पूर्ण रूपमा ढुक्क हुन नसकेको उनको भनाइ छ।

यसैबीच, इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले इरान र ओमानका प्राविधिक टोलीबीच स्ट्रेट अफ होर्मुजमा जहाज सञ्चालनका नयाँ मार्गबारे केही दिनभित्र छलफल सुरु हुने जानकारी दिएका छन्। उनले निर्धारित मार्गबाहिर सञ्चालन हुने जहाजमाथि कडाइ गरिने संकेत पनि दिएका छन्, जसले समुद्री सुरक्षालाई थप व्यवस्थित बनाउने उद्देश्य राखिएको जनाइएको छ।

तर इरानको विदेश मन्त्रालयले भने अमेरिकासँग तत्काल कुनै औपचारिक वार्ता हुने सम्भावना नरहेको स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले निकट भविष्यमा दुई देशबीच कुनै पनि तहमा प्रत्यक्ष वार्ता तय नभएको बताएका छन्। उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले दोहामा हुन सक्ने सम्भावित बैठकलाई लिएर प्रतिक्रिया दिँदै त्यसले महत्त्वपूर्ण परिणाम दिन पनि सक्ने र नदिन पनि सक्ने उल्लेख गरेका छन्। उनले कुनै निष्कर्षमा पुग्नुअघि वार्ताको वास्तविक नतिजा पर्खनुपर्ने धारणा व्यक्त गरेका छन्।

विश्व बजारमा तेलको मूल्य आगामी दिनमा मध्यपूर्वको सुरक्षा अवस्था, कूटनीतिक संवादको प्रगति तथा चीनलगायत प्रमुख अर्थतन्त्रहरूको ऊर्जा मागमा हुने परिवर्तनका आधारमा थप उतारचढाव हुन सक्ने विश्लेषकहरूको अनुमान छ।

1

Scroll to Top