Banijya News

धान खेतीलाई लक्ष्ति गर्दे २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने तयारी

1
1.1K Shares

धान रोपाइँको मुख्य समयलाई लक्षित गर्दै कृषि, वन तथा वातावरण मन्त्रालयले साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। किसानलाई आवश्यक समयमा मल उपलब्ध गराएर उत्पादन वृद्धि गर्ने उद्देश्यले मन्त्रालयले सरकार–सरकार (जीटूजी) सम्झौता तथा अन्तर्राष्ट्रिय बोलपत्रमार्फत आयात प्रक्रिया तीव्र बनाएको जनाएको छ।

मन्त्रालयका अनुसार धानबालीका लागि आवश्यक पर्ने युरिया र डीएपी मलको अभाव हुन नदिन विभिन्न मुलुकबाट चरणबद्ध रूपमा मल ल्याउने व्यवस्था गरिएको छ। यसका लागि भारतसँग भएको सरकार–सरकार सम्झौता र अन्तर्राष्ट्रिय आपूर्तिकर्तासँगको खरिद प्रक्रियालाई समानान्तर रूपमा अघि बढाइएको छ।

भारतसँग भएको ८० हजार मेट्रिक टन रासायनिक मल आपूर्तिसम्बन्धी सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन मल नेपाल आउने तयारी छ। यसमध्ये प्रारम्भिक रूपमा ३० हजार मेट्रिक टन युरिया असारको अन्तिमदेखि साउनको दोस्रो साताभित्र नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ। बाँकी परिमाण पनि चरणबद्ध रूपमा आपूर्ति गरिने योजना छ।

यस्तै, अन्तर्राष्ट्रिय बोलपत्रमार्फत कुल १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल खरिदको प्रक्रिया अघि बढाइएको छ। यसमध्ये १ लाख २० हजार मेट्रिक टन युरिया र ६० हजार मेट्रिक टन डीएपी मल रहेको मन्त्रालयले जानकारी दिएको छ। यी मल साउनको पहिलो सातादेखि नेपाल भित्रिन सुरु हुने अपेक्षा गरिएको छ।

आपूर्तिको अवस्थाबारे जानकारी दिँदै मन्त्रालयले विभिन्न देशबाट मल ढुवानी भइरहेको जनाएको छ। ओमानबाट ३० हजार मेट्रिक टन युरिया लोडिङको अन्तिम चरणमा रहेको र असार अन्तिमसम्म कोलकाता बन्दरगाह पुग्ने अनुमान गरिएको छ। त्यहाँबाट स्थलमार्ग हुँदै साउनको दोस्रो सातासम्म नेपाल ल्याइने तयारी गरिएको छ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अनुसार ३० हजार मेट्रिक टन डीएपी मल बोकेको जहाज होर्मुज क्षेत्र पार गरी विशाखापट्टनम बन्दरगाह पुगिसकेको छ। उक्त मल असार १९ देखि २० गतेभित्र नेपाल आइपुग्ने अपेक्षा गरिएको छ। साथै अर्को ३० हजार मेट्रिक टन युरिया जहाजमा लोड भइसकेको छ, जुन साउनको पहिलो सातामा कोलकाता पुगेर साउन अन्तिमसम्म नेपाल भित्रिनेछ।

कृषि सामग्री कम्पनी लिमिटेडले पनि कतारबाट ३० हजार मेट्रिक टन युरिया पठाइसकिएको जनाएको छ। उक्त खेप असारको अन्तिम सातासम्म कोलकाता आइपुग्ने अनुमान छ। त्यस्तै साउदी अरेबियाबाट ३० हजार मेट्रिक टन युरिया लोड भइसकेको र सो खेप पनि असार अन्तिमसम्म कोलकाता पुग्ने जानकारी कम्पनीले दिएको छ।

यसबाहेक भियतनामबाट ३० हजार मेट्रिक टन डीएपी मल नेपालका लागि पठाइएको छ। उक्त खेप असार अन्तिमसम्म कोलकाता पुग्ने र साउनको दोस्रो सातासम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।

मन्त्रालयले पछिल्लो समय मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको आपूर्ति र ढुवानीमा चुनौती थपिएको स्वीकार गरेको छ। यद्यपि सम्भावित असरलाई न्यून गर्दै किसानले खेतीपातीको समयमा मल अभाव झेल्न नपरोस् भन्ने उद्देश्यले आवश्यक समन्वय र व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको मन्त्रालयको भनाइ छ।

चालु आर्थिक वर्षभित्र करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने सरकारी लक्ष्य रहेको छ। समयमै मल आपूर्ति सुनिश्चित गर्न सकिएमा धान उत्पादन वृद्धि हुनुका साथै कृषकको उत्पादन लागत घट्ने र मुलुकको खाद्य सुरक्षामा समेत सकारात्मक योगदान पुग्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

1

Scroll to Top