पछिल्लो समयमा चर्को हवाई भाडा बढाएका वायुसेवा कम्पनीहरूले अब भने हवाई भाडा घटाउने भएका छन् । नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा घटाउने तयारी गरेका हुन् ।
निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा ४० रुपैयाँ घटाएकाले वायुसेवा कम्पनीहरूले भोलिदेखि नै लागू हुने गरी इन्धनबापतको शुल्क घटाउने भएका हुन् । वायुसेवा कम्पनीहरूले इन्धनको लागतअनुसार नै मूल्य समायोजन गर्नेछन् । जसले गर्दा इन्धनको मूल्य बढेर आउँदा भाडा बढाउने र घटेर आउँदा घटाउने गर्छन् ।
आन्तरिक उडानका वायुसेवा कम्पनीहरूले काठमाडौंबाट बाहिरिने र भित्रनेदेखि प्रादेशिक विमानस्थलसम्मको उडानलाई आधार बनाएर हवाई इन्धन शुल्क तय गरेका हुन्छन् । सोही शुल्क घटाउँदा यात्रुले तिर्ने हवाई भाडा समेत घट्ने गर्दछ ।
आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णका अनुसार आयल निगमले इन्धनको मूल्य घटाएकाले वायुसेवा कम्पनीहरूले गन्तव्यअनुसार लागत तयार गर्ने र सोही अनुपातमा इन्धन शुल्क घटाउने भएका हुन् । वायुसेवा कम्पनीहरूले भोलि विहीबारदेखि नै लागू हुने गरी इन्धन शुल्क कम गरेर हवाई टिकटको मूल्य तय गर्ने काम भइरहेको बताइएको छ ।
पश्चिम एसिया द्वन्द्वका कारण हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँबाट बढेर २६९ रुपैयाँसम्म पुगेको थियो । भारतीय आयल कर्पोरेसनबाट पछिल्लोपटक इन्धनको मूल्य घटेर आएकाले नेपाल आयल निगमले पनि घटाएरै बिक्री गर्ने जानकारी दिएको छ । निगमले हवाई इन्धनको मूल्य बुधबारदेखि २२९ रुपैयाँ प्रतिलिटर कायम गरेको छ ।
निगमले अन्तर्राष्ट्रिय उडानका वायुसेवा कम्पनीहरूको इन्धनको मूल्य समेत घटाएको छ । अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको हकमा नेपालआयल निगमले काठमाडौँका लागि प्रतिकिलोलिटर १८३१ डलर लिने गरेकोमा अब भने १५६६ डलर मात्रै लिने भएको छ । इन्धनको मूल्य पोखरा र भैरहवाको हकमा भने सरकारले छुट दिने निर्णय गरेकाले काठमाडौँमा भन्दा सस्तो हुने गरेको छ । पोखरामा अन्तर्राष्ट्रिय वायुसेवाका लागि ११ सय डलर प्रतिकिलोलिटर र भैरहवाका लागि १ हजार ८५ डलर प्रतिकिलोलिटर इन्धन शुल्क तोकिएको छ । अन्तर्राष्ट्रिय वायुसेवाको हकमा भने बजारले नै मूल्य तय गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले हस्तक्षेप गर्न नमिल्ने भन्दै हवाई टिकट तथा इन्धन शुल्क तोक्ने गरेको छैन ।


