जापानी मुद्रा येन अमेरिकी डलरको तुलनामा सन् १९८६ यताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । बुधबार येनको विनिमय दर एक अमेरिकी डलर बराबर १६२.६९ येन पुगेको छ, जुन करिब चार दशकयताकै न्यून स्तर हो । अघिल्लो दिन मंगलबार एक अमेरिकी डलर बराबर १६२.५८ येन रहेको थियो ।
मुद्रा निरन्तर कमजोर बन्दै गएपछि लगानीकर्ता तथा वित्तीय बजारमा जापान सरकारले विदेशी विनिमय बजारमा गर्न सक्ने सरकारी हस्तक्षेपको सम्भावनाबारे चासो बढेको छ । जापानकी अर्थमन्त्री सात्सुकी कतायामाले अत्यधिक विनिमय दर उतारचढाव नियन्त्रण गर्न आवश्यक परे सरकारले निर्णायक कदम चाल्न तयार रहेको बताएकी छन् । त्यस्तै, मुख्य मन्त्रिपरिषद् सचिव मिनोरु किहाराले पनि आवश्यक परे विदेशी मुद्रा बजारमा हस्तक्षेप गर्न सरकार तयार रहेको स्पष्ट पारेका छन् ।
नोमुराका उत्तर एसिया प्रमुख लगानी अधिकृत जुलिया वाङका अनुसार येन नयाँ न्यून स्तरमा पुगेकाले जापान सरकारले हस्तक्षेप गर्न सक्ने सम्भावना बढेको छ । तर, यस्तो हस्तक्षेपले दीर्घकालीन रूपमा येनको कमजोरी रोक्न भने कठिन हुने उनको विश्लेषण छ ।
विश्लेषकहरूका अनुसार, जापान र अमेरिकाबीचको ब्याजदरको ठूलो अन्तरका कारण लगानीकर्ताले सस्तो ब्याजमा येन सापटी लिएर उच्च प्रतिफल दिने अन्य सम्पत्तिमा लगानी गर्ने प्रवृत्ति (क्यारी ट्रेड) बढेकाले येनमाथि थप दबाब परेको हो । यसअघि अप्रिल–मे महिनामा पनि जापानले आफ्नो मुद्रा बलियो बनाउन ११.७ ट्रिलियन येन (करिब ७२.८ अर्ब अमेरिकी डलर) बराबर विदेशी मुद्रा सञ्चिति प्रयोग गरेको थियो ।
यसैबीच, बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न जापानको केन्द्रीय बैंक (बीओजे) ले हालै आधारभूत ब्याजदर १ प्रतिशत पुर्याएको छ, जुन पछिल्लो तीन दशकयताकै उच्च स्तर हो । तर, ब्याजदर वृद्धि हुँदाहुँदै पनि अमेरिकी डलरको तुलनामा येनमाथिको दबाब भने कायम रहेको छ ।


