Banijya News

जीवन बीमाको दीर्घकालीन लगानी ६ खर्बभन्दा बढी, कुनको कति बढ्यो ?

1
1.0K Shares

जीवन बीमा कम्पनीहरूले संकलन गरेको बीमाशुल्कलाई सुरक्षित र प्रतिफलयुक्त क्षेत्रमा लगानी गर्ने गर्दछन् । दीर्घकालीन प्रकृतिका यस्ता लगानीबाट हुने प्रतिफल नै भविष्यमा बीमा दाबी भुक्तानी लगायतमा प्रयोग हुन्छ ।

चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूको दीर्घकालीन लगानी उल्लेखनीय रूपमा बढेको पाइएको छ । कम्पनीहरूले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीको कुल दीर्घकालीन लगानी ६ खर्ब ४३ अर्ब ३९ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

जीवन बीमा कम्पनीहरूले गर्ने दीर्घकालीन लगानीलाई वित्तीय अवस्था मापन गर्ने प्रमुख सूचकका रूपमा लिइन्छ । कम्पनीहरुले सरकारी ऋणपत्र, बैंक तथा वित्तीय संस्थाका मुद्दती निक्षेप, सूचीकृत कम्पनीका शेयर र डिबेञ्चर आदिमा लगानी गर्ने र यसबाट प्राप्त प्रतिफललाई कम्पनीहरुले भविष्यमा बीमा दाबी भुक्तानी लगायतमा प्रयोग गर्ने गर्दछन् ।

अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीहरुले यस्तो लगानी ५ खर्ब ६१ अर्ब ९४ करोड ७ लाख रुपैयाँ मात्र गरेका थिए । यसको तुलनामा चालु आवको समीक्षा अवधिमा समग्र दीर्घकालीन लगानी १४.५० प्रतिशतले वृद्धि भएको देखिन्छ ।

दीर्घकालीन लगानीको आकार हेर्ने हो भने नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै लगानी गरेको छ । कम्पनीको यस्तो लगानी २ खर्ब १० अर्ब ३० करोड ३४ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३२.०३ प्रतिशतले बढी हो । त्यस्तै, एलआईसी नेपालको दीर्घकालीन लगानी ८९ अर्ब ४० करोड १२ लाख रुपैयाँ रहेको छ । तर, कम्पनीको लगानी अघिल्लो वर्षको तुलनामा ७.४९ प्रतिशतले घटेको पाइएको छ ।

त्यसैगरी, नेशनल लाइफले ७२ अर्ब ७५ करोड २७ लाख रुपैयाँ बराबरको दीर्घकालीन लगानी गरेको छ । कम्पनीको लगानी एक वर्षमा १७.८८ प्रतिशतले वृद्धि भएको छ । हिमालयन लाइफको दीर्घकालीन लगानी ४९ अर्ब १४ करोड ९६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको लगानी भने ४.९७ प्रतिशतले घटेको देखिन्छ ।

त्यस्तै, सूर्यज्योति लाइफले ४१ अर्ब १८ करोड ५८ लाख रुपैयाँ तथा एशियन लाइफले ४० अर्ब १ करोड ८१ लाख रुपैयाँ बराबरको दीर्घकालीन लगानी गरेका छन् । यी दुवै कम्पनीको लगानी अघिल्लो आवको सोही अवधिको तुलनामा क्रमशः २८.७६ प्रतिशत र १६.०४ प्रतिशतले बढेको देखिएको छ ।

उता, सिटिजन लाइफको दीर्घकालीन लगानी २२ अर्ब ५५ करोड १ लाख रुपैयाँ पुगेको छ भने राष्ट्रिय जीवन बीमा कम्पनीको २१ अर्ब १६ करोड ४ लाख रुपैयाँ रहेको छ । मेट लाइफले २० अर्ब ९४ करोड ७३ लाख रुपैयाँ तथा रिलायबल नेपाल लाइफले २० अर्ब ३१ करोड ९७ लाख रुपैयाँ बराबरको दीर्घकालीन लगानी गरेका छन् । यसैगरी, सन नेपाल लाइफको दीर्घकालीन लगानी १५ अर्ब २५ करोड १० लाख रुपैयाँ पुगेको छ ।

वित्तीय विवरणअनुसार, आईएमई लाइफको १५ अर्ब १७ करोड २७ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको १३ अर्ब ४० करोड १६ लाख रुपैयाँ तथा प्रभु महालक्ष्मी लाइफको ११ अर्ब ७८ करोड ३२ लाख रुपैयाँ दीर्घकालीन लगानी रहेको देखिन्छ ।

वृद्धिदरका आधारमा हेर्ने हो भने नेपाल लाइफ सबैभन्दा अगाडि रहेको छ । कम्पनीको दीर्घकालीन लगानी ३२.०३ प्रतिशतले बढेको छ । त्यसपछि सिटिजनको २९.४२ प्रतिशत, सूर्यज्योतिको २८.७६ प्रतिशत, राष्ट्रिय जीवन बीमाको २३.३० प्रतिशत, रिलायबलको १७.९३ प्रतिशत, नेशनलको १७.८८ प्रतिशत, एशियनको १६.०४ प्रतिशत, सन नेपालको १४.९६ प्रतिशत, आइएमईको १४.३६ प्रतिशत, सानिमाको ७.५८ प्रतिशत तथा प्रभु महालक्ष्मीको २.८४ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

तर, समीक्षा अवधिमा केही कम्पनीहरूको दीर्घकालीन लगानी भने घटेको पाइएको छ । विवरणअनुसार, मेट लाइफको लगानी १२.१४ प्रतिशत, एलआईसी नेपालको ७.४९ प्रतिशत तथा हिमालयन लाइफको ४.९७ प्रतिशतले घटेको देखिएको छ ।

1

Scroll to Top