एभरेष्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेशन) गरी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्वारा सञ्चालित ईएफटी कार्ड स्वीचमार्फत कार्ड कारोबार सञ्चालनमा ल्याएको छ। यस महत्वपूर्ण उपलब्धिसँगै अब एभरेष्ट बैंकका सम्पूर्ण कार्डहरूको इस्यूइङ, अक्वायरिङ तथा कारोबारहरूको प्रोसेसिङ र राउटिङ एनसीएचएलको ईएफटी कार्ड स्वीचमार्फत हुने भएको छ ।
साथै बैंकले नेपालपे कार्ड जारी (इस्यू) तथा अक्वायर पनि गर्नेछ । यसबाट बैंकको राष्ट्रिय कार्ड स्किममा सहभागिता थप सुदृढ हुनुका साथै देशभरका एटीएम, पीओएस तथा विभिन्न डिजिटल मर्चेन्ट च्यानलहरूमा राष्ट्रिय कार्ड स्किमको स्वीकार्यता विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
नेपालपे कार्ड र अन्तर्राष्ट्रिय डिस्कोभर कार्डबीच सहकार्य रहेको हुँदा बैंकका कार्डहरूको स्वदेशी तथा अन्तर्राष्ट्रिय स्वीकार्यता र प्रयोगको दायरा समेत थप विस्तार भएको बैंकले जनाएको छ । बैंकका अनुसार पुरानो कार्ड स्वीच प्रणालीबाट एनसीएचएलको ईएफटी कार्ड स्वीचमा सफलतापूर्वक स्थानान्तरण हुनु रणनीतिक दृष्टिले महत्वपूर्ण उपलब्धि हो। यसले कार्डसम्बन्धी सेवाको सञ्चालनलाई अझ सहज बनाउनुका साथै सञ्चालनगत स्थायित्व, कार्यकुशलता, सुरक्षा सुदृढीकरण तथा लागत व्यवस्थापनमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
हाल एनसीएचएलले ईएफटी कार्ड स्वीच तथा सम्बन्धित सेवाहरू सञ्चालन गर्दै आएको छ। ११ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू आबद्ध रहेको यस प्रणालीमार्फत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड स्किमका कारोबारहरू प्रोसेस गरिँदै आएका छन्। गत आर्थिक वर्षमा मात्र एनसीएचएलको ईएफटी कार्ड स्वीचमार्फत ४.२८ खर्ब रुपैयाँभन्दा बढी रकम बराबरका कारोबार प्रोसेस भएको उल्लेख गरिएको छ।


